| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आफुखुसी कुखुराको मासुको मूल्य निर्धारण गर्दै व्यापारी

प्रतिक्षा आले मगर ।
गोरखाका मासु व्यवसायीहरुले आफुखुसी मासुको मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । व्यवसायीहरुले कुखुराको भाउ बढ्दा ह्वात्तै मूल्य बढाए पनि भाउ घट्दा भने मूल्य समायोजन नगरेको उपभोक्ताहरुको गुनासो छ । जिउँदो कुखुराको मूल्यमा प्रतिकेजी १२० देखि १४० सम्म जोडेर बेच्नु मनासिब भए पनि अत्याधिक जोडेर बेच्ने गरेको उनीहरु गुनासो गर्छन् ।

गोरखा नगरपालिका–१० विरिन्चोकमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी ३८० का दरले बिक्री वितरण हुने गरेको छ । बिरिन्चोकका मासु व्यवसायी रमेश आलेले हाल कुखुराको मूल्य घटेका कारण आफुले मासुको भाउ घटाएको बताएका छन् । ‘अहिले जिउँदो कुखुरा प्रतिकेजी २२० रुपैँयाका दरले बिक्री भईरहेको छ त्यसैले मासुको भाउ घटाएको हुँ’, उनले भने, ‘मूल्य बढेपनि मैले धेरैमा ४०० रुपैँया केजीका दरले बिक्री गरिरहेको छु ।’

त्यति मूल्य राख्दा सन्तोषजनक फाइदा आउने गरेको उनी बताउँछन् । तर, बिरिन्चोकबाट १ किलोमिटर परको टक्सारमा भने ब्रोइलर कुखुराको मासु ४०० रुपैँया केजीका दरले धमाधम बिक्री भइरहेको छ । गोरखा सदरमुकममा पनि पसलै पिच्छे मासुको भाउ फरक हुने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । गोनपा–६ हस्पिटलचोक स्थित कृष्ण सिंखडाको पसलमा ब्रोइलर कुखुरा ४०० प्रतिकेजीका दरले बिक्री हुन्छ ।

पसलमा आइपुग्ने कुखुराको तौल भनेजति नहुने भएकाले पनि मासुको भाउ घटाउन नसकिने उनी बताउँछन् । ‘कुखुराको भाउ २२० प्रतिकेजी हुँदा ४०० मा बेचेको छु अब, बढ्यो भने सोही अनुसार भाउ बढाउँदै लैजाने हो’, उनले भने । ४०० रुपैयाँभन्दा कम गरेर भाउ घटाउन नसकिने उनले बताए । जिल्लामा मासुको मूल्य समायोजना, व्यवस्थापन गर्नका लागि मासु व्यवसायी समिति गठन गरिएको छ ।

तर, कसैले कसैलाई नटेर्ने हुँदा सबैले आफुखुसी मूल्य निर्धारण गरेर बिक्रीवितरण गरिरहेको समितिका अध्यक्ष भैरव पुडासैनी बताउँछन् । पुडासैनी आफैले ४२० रुपैँयाका दरले ब्रोइलरको मासु बेचिरहेको सुनाउँछन् । ‘जिल्लाको दररेट बाहिरकोसँग मेल खादैन, कुखुराको भाउ बढ्दा पनि हामीले मूल्य धेरै गरेका छैनौ र घट्दा पनि धेरै घटाउँदैनैँ’, उनले भने, ‘राष्ट्रिय दररेटमा चल्न सकिदैन, त्यसैले किसानहरुसँग मूल्य समायोजन गरेर बिक्री वितरण गरिरहेका छौँ ।’

यता, चल्ला तथा दानाका डिलर सुरेन्द्र ठाकुरीले भने मूल्य मासु व्यवसायी संघले निर्धारण गरेपनि जिल्लाका व्यवसायीहरुले आफ्नो हिसाबले बिक्री गर्ने गरेको बताएका छन् । ‘हाल कुखुराको भाउ ह्वात्तै घटेको छ । यो अवस्थामा सामान्यतया प्रतिकेजी ३७० रुपैयाँका दरले बेच्नु मनासिब हुन्छ, तर सबैजनाको आफुखुसी भाउ छ’, उनले भने, ‘कुखुराको मूल्य अनुसार १२० देखि १४० रुपैयाँ सम्म जोडेर बिक्री वितरण गरे फाइदा हुन्छ तर व्यवसायीहरुले अलि बढि नै मूल्य जोडेर बेच्ने गरेको थाहा पाएको छु ।’

साउनदेखि असोजसम्म कुखुराको भाउ केही हदसम्म घट्ने भएकाले व्यवसायीहरुले सोही अनुसार मूल्य समायोजन गर्नुपर्ने उनले बताएका छन् । मासुको मूल्य समायोजन नहुँदा ग्राहक र किसान निकै मर्कामा परेको कुखुरा व्यवसायी प्रकाश थापाले बताए । ‘कुखुराको मूल्य किसान संघले निर्धारण गर्ने गर्दछ, हामीहरुले संघको रेट अनुसारै कुखुराको भाउ पाउने हो तर मासु व्यवसायीहरुले भने सोही अनुसार मूल्य समायोजन गरेको पाइँदैन’, उनले भने, ‘यसरी दुख गर्ने किसान र ग्राहक दुवै ठगिएको अवस्था छ ।’

जिल्लाका मासु व्यवसायीहरुले कुखुराको भाउ २७० हुँदा ४४० का दरले मासु बिक्री गरेको र हाल २२० हुँदा ४०० का दरले बिक्री गरेर खासै मूल्य समायोजन नगरेको उनको आरोप छ । ‘सरासर हेर्दा ग्राहक ठगिएको अवस्था छ, हामी किसानको पनि हालत उही हो । दुख गरेर कुखुरा हुर्काएका हुन्छौँ तर मूल्य नआएर घाटा खानुपर्ने अवस्था छ । मासु व्यवसायीहरुले कुखुराको मूल्य अनुसार रकम अमायोजन गर्न जरुरी छ’, उनले भने ।

यसरी जिल्लाका खुद्रा व्यवसायीहरुले एकलौटी रुपमा मासुको भाउ बढाउने गरेका छन् । मासुको खपत घटेको साउनमा कुखुराको भाउ २१० प्रतिकेजीसम्म पुगेको थियो । यसरी लागत नै नउठ्ने गरी मूल्य घटेपछि किसानहरुले ठूलो घाटा बेहोर्नु परेको छ । तर, मासु व्यवसायीहरुले भने मासुको भाउ खासै समायोजन गरेको पाइन्न । कुखुराको भाउ २१० हुँदा समेत पसलेहरुले ४०० रुपेँया केजीमै मासु बिक्री वितरण गरे । यसरी, किसान, उत्पादन र बजारमा फेरबदल आउनसाथ जिल्लाका व्यवसायीहरुको मनोमानी सुरु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्