| मङ्लबार, कार्तिक २४, २०८३

तीजमा नि साडी पसलमा छैन उत्साह, अनलाइन सपिङ र पोके ब्यापारीले व्यवसाय धरापमा

हिन्दू महिलाहरुको महानपर्व तीज नजिकै आइसकेको छ । आउँदो शुक्रबार महिलाहरुले भव्यतापूर्वक तिज मनाउँदैछन् । तिजलाई मध्यनजर गरी कपडा तथा फेन्सी व्यापारीहरुले पसलभरि रातो साडीले भरिभराउ पारेका छन् । तर व्यापार नभएर पट्यारलाग्दो दिन काट्नु परेको व्यापारीहरुको गुनासो छ ।
‘पोहोरसंग तुलना गर्ने हो भने त करिब करिब उस्तै हो, तर बिगतका बर्षहरुमा भन्दा धेरै कम चहलपहल छ’, कपडा तथा फेन्सी व्यवसायी संघका जिल्ला उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ भन्छन्, ‘रोडमै मान्छे छ्रैनन् । पसलमा मान्छे भएनन् भनेर मात्र के चिन्ता गर्नु ?’
तर यसरी मात्र व्यापारीहरुको चित्त बुझ्दैन किनभने, उनीहरुले चहलपहल कम भयो भनेर पसलमा सामान जोरजाम गर्न कम गरेका हुदैनन् । बरु बिगत बर्षको भन्दा धेरै प्रकारका कपडाहरु जोडेका हुन्छन् । ‘पहिले–पहिले भन्दा अचेल अनलाइनहरुतिर धेरै भेराइटीका कपडा हेरेका हुने रहेछन् अनि यस्तै कपडा चाहियो भन्दै मोबाइलमा देखाउँदै आउँछन्’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘त्यसैले लगानीचाहिँ बढेको बढै, व्यापारचाहिँ घटेको घटै भयो ।’
अनलाइन ब्यापारी र पोके ब्यापारीका कारण पनि गोरखा बजारका फेन्सी तथा कपडा ब्यवसायीहरु मर्कामा परेको श्रेष्ठको भनाइ छ । ‘अनलाइन सपिङ र पोके ब्यापारीका कारण हाम्रो व्यवसाय धरापमा छ’, दीपेन्द्र श्रेष्ठ भन्छन्, ‘त्यस्ता अनाधिकृत ब्यापारीलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने हो, तर त्यस्तो हुन सकेन ।’ पसल दर्ता पनि नगर्ने, कर पनि नतिर्ने हुँदा ती गैरकानुनी पसललाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
भूकम्प गएपछि गोरखाको व्यापार पनि सर्लक्कै गएको अर्का फेन्सी तथा कपडा व्यवसायी नारायण श्रेष्ठको भनाइ छ । ‘गोरखा बजारमा व्यापार नभएको होइन, थियो । जब भूकम्प गयो, त्यसपछि गोरखाको व्यापार पनि गयो’, फेन्सी व्यवसायी संघका संस्थापक सचिव श्रेष्ठ भन्छन्, ‘ल हेर्नुस् त, तीसौँ बर्षदेखि गोरखा बजारमा फेन्सी व्यापार गर्दै आएका एकजना व्यापारी तीजकै मुखमा हिजो सामाज पोको पारेर सटर लाएर काठमाडौँतिर गए । यसले गोरखाको फेन्सी व्यवसायीहरुको हविगत देखाएको छ ।’
उपभोक्ता नै नभएर व्यापार घटेको उनको बुझाइ छ । ‘मान्छेहरुलाई फेरी, फेरी नयाँ कपडा लगाउने परम्परा त बसेको छ, तर एक त पहिलेभन्दा जनसंख्या नै घटेको छ, उपभोक्ता नै कम भए, अर्को त, अनलाइन र पोके ब्यापारीले खायो । अनलाइन व्यवसायीले हिरा देखाएर झुसिल्किरा बेचेर ग्राहक ठगिरहेका छन् । यसबाट ग्राहक बच्नु पर्दछ ।’
गोरखाको व्यापार व्यवसाय बढाउन सबैको साथ र सहयोगको खाँचो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्