| मङ्लबार, कार्तिक २४, २०८३

नाका खुलेपछि उत्तरी गोरखाबासीलाई तिब्बतबाट सामान ओसार्ने चटारो

तिब्बती सीमा क्षेत्रमा बसोबास गर्ने गोरखाबासीलाई यतिबेला तिब्बती बजारबाट सामान ओसार्न चटारो छ । बन्द रहेको पाँचबर्षमा बल्लतल्ल नाका खुलेपछि सीमा उनहरुलाई दैनिक उपभोग्य सामान ओसार्न भ्याइनभ्याइ भएको हो ।


२०७६ सालदेखि चीन सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री गाउँपालिका १ को रुइला नाका र वडा नं. ७ को नुइला नाका गत भदौ ४ गतेबाट खुल्ला भएको थियो । ‘मान्छेहरुले सामान ओसारिरहेका छन् । म पनि दुईखेप ओसार्न गएँ’, सामागाउँका मिङ्मार लामा भन्छन्, ‘पहिलेजस्तो रुई, कोङदाङसम्मचाहिँ जान पाइएन । रुई गाउँभन्दा केही माथिको मनाङसम्बा भन्ने ठाउँको चहुरसम्म मात्र जान पाइयो । त्यहीँ टेण्ट टाँगेर सामान बेच्न राखेका रहेछन् । हामीले त्यहीँबाट सामान किनेर फर्कियौँ ।’ इलाका प्रशासन कार्यालय सिर्दिबासले दिएको सीमा पास र नागरिकता देखाएर सीमा कट्न पाएको उनले बताए । ‘मनाङसम्बासम्म याक, चौँरी, घोँडा लगेर सामान बोकाएर ल्यायौँ’, मिङ्मारले भने, ‘सुरुमा १५ दिनका लागि भनेर नाका खुलाएको हो । पछि फेरि एक महिनाका लागि म्याद थप गरेको छ भन्ने जानकारी आएको छ ।’


चुम क्षेत्रका बासिन्दाले पनि तिब्बतको स्याभन्ने ठाउँबाट सामान किनेर ल्याएका छन् । यसअघि जोङ्गासम्म गएर सामान किन्न पाए पनि अहिले स्याभन्दा भित्र प्रवेश नपाएका छेकम्पारका दोर्जे लामाले जानकारी दिए । ‘हामीले याकचौँरी लैजान पनि पाएनौँ । स्याबाट उनीहरुकै याकचौँरीमा बोकाएर ल्याउँदा ढुवानी भाडामा धेरै खर्च भयो’, उनले भने, ‘आफ्नै याक, चौँरीमा बोकाएर ल्याउन पाएको भए दुईचारपैसा भने पनि सस्तो पथ्र्यो । सामानचाहिँ जे खोजे पनि पाइयो । त्यहाँ नभएको सामान पनि उनीहरुले मगाएर उपलब्ध गराएका थिए ।’


सीमा कटेर गएपछि सुरक्षा चेकजाँच भने धेरै नै कडा भएको उनीहरुको बताए । ‘बोर्डरमा सुरक्षा चेकजाँच हुँदो रहेछ । फेरि स्या पुगेपछि पनि सुरक्षा चेकजाँच हुने रहेछ’, दोर्जेले भने, ‘त्यहाँ एउटा ठूलो हल रहेछ । त्यहाँभित्र पुगेपछि ढोका लगाइदिने रहेछन् । त्यहीँभित्र सबै सामान पाउने रहेछ । खानेबस्ने व्यवस्था पनि त्यहीँ भित्र रहेछ ।’ पाँचबर्षअघि तिब्बत जाँदा सरसामान किनेपछि घुमफिर गर्न पाए पनि यसपटक घुमफिर गर्न नपाएको उनको भनाइ छ ।
सामान किन्न जाने स्थानीयबासीले यताबाट पनि यार्सागुम्बा, वनलसुन तथा चाँदी जडित परम्परागत कपहरु बिक्री गर्न लगेका थिए । आगामि दिनमा पनि बिगतमा जस्तै नियमित रुपमा नाका खुल्नेमा स्थानीयबासी विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्