
गण्डकीको तरकारी खेती अध्ययन गर्न कार्यदल गठन
गण्डकी गाउँपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आव्हान गरेको आस्मिक बैठकले मंगलबार पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक काशिनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार, प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन् ।
सो बैठकमा गोरखाको गण्डकी गाउँपालिकाका ६१ जना तरकारी किसानहरुलाई क्यान्सर भएको र १५ जनाको मृगौला फेल भएको विषयमा दरौँदी दैनिकमा प्रकाशित समाचारबारे छलफल भएको थियो । साथै सो समस्या समाधान गर्न अध्ययन गर्नेगरी कार्यदल बनाउने निर्णय भएको थियो ।
कार्यदलले स्थलगत अध्ययन गर्न सुरु गरिसकेको कार्यदलका संयोजक पोखरेलले जानकारी दिए । ‘हामीलाई अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयार गर्न एक महिनाको समय अवधि दिइएको छ’, उनले भने, ‘हामले आजबाटै काम सुरु गरेका छौँ ।
आज त्यस क्षेत्र आसपासको एग्रोभेटहरुको अध्ययन गरेका छौँ । निर्धारित समयअवधिभित्र कार्य सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछौँ ।’ साथै बैठकमा अन्तर्राष्टिूय नाकाहरुमा क्वारेण्टाइन कार्यालय, चेकपोस्ट एवं विषादीको दुरुपयोगसम्बन्धी छलफल भएको थियो ।




