| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर, १५ जनाको मृगौला फेल

शिव उप्रेती । गण्डकी गाउँपालिका ७ की ४३ बर्षीया कमला कुमारी(नाम परिवर्तित) अचेल साहुको तरकारी बारीमा काम गर्न जान्नन् । ज्यानमा रोग पसेपछि उनी घर बाहिर हिँडडुलबाहेक काममा निस्कन सक्दिनन् ।
कमला कुमारीलाई पनि क्यान्सर भा’छ रे भनेर छरछिमेकले अचेल शंकाको नजरले हेर्न थालेका छन् । त्यसैले कसैको सामु जुम्लुङ्ग देखापर्न पनि मन लाग्दैन । कहिलेकहीँ वडा कार्यालयमा औषधी उपचार खर्च लिन भने आफै जान्छिन् ।
नत्र उनलाई सिजन–सिजनमा साहुको तरकारीबारीमा काम गर्न जान भ्याइनभ्याइ हुन्थ्यो । आफ्नै तरकारी थिएन । साहुले धानखेत मासेर तरकारी लगाउँथे । यो सिजनमा टारीखेतको ठूलो पाटोमा बोडी, लौका, फर्सी, घिरौँला लटरम्मै हुन्थ्यो । राम्रो बजारभाउ पाइरहेकाले साहुले उनलाई रोजै काममा बोलाउँथे ।
राम्रै दाम हात लाग्ने हुँदा झिस्मिसेमै नित्यकर्म सकिवरी उनी साहुको तरकारीबारीमा जान्थिन् । यो सिजनमा बोडीले भाउ राम्रो पाउँथ्यो, उत्पादन राम्रो हुन्थ्यो, कामको चटारो हुन्थ्यो, उनको पोल्टामा नोट पनि राम्रै पथ्र्यो । हुन्थेन त केवल शीरमा शीरपोस, पाउमा पाउपोस, मुखमा मास्क, हातमा पञ्जा अनि ज्यानमा विषादी नछिर्ने सुरक्षित पोशाक ।
राम्रो बजारभाउ पाइरहेका बेला तरकारीमा लागेको लाइ र शत्रुकीरा देखेपछि उनलाई पनि झोक चल्थ्यो । अनि उनी कुनै जोखिमीको पर्वाह नगरी पम्प बोकेर तरकारी बारीमा पस्थिन् । तोकिएको काम सक्नुथियो त्यसैले, उनी अबिराम तरकारी बारीमा खट्थिन् ।
तरकारीमा बिषादी प्रयोग गर्दा शीत नओबाइकन बारीमा नपस्नू भनेर तालिम दिनेले सिकाएको उनलाई थाहा हुन्थेन । बिहान शीत ओबाएदेखि घाम नचर्किँदै बिषादी प्रयोग गरिसक्नुपर्छ, अनि अपरान्हतिर घाम ओझाएपछि मात्र बिषादी छर्कनु पर्छ । घामको राफमा विषादी छिट्यो भने आफैलाई असर पर्छ भनेर सिकाएको कार्यक्रममा उनले भाग लिनै पाइनन् । त्यसैले दिनभर चर्को घाममा बिषादी छिटिन् । त्यसकै नतिजा अहिले देखिएको हो भनेर सबैले भन्छन् ।
बिरामी भएर काठमाडौँ उपचार गर्न जाँदा डाक्टरले पाठेघरको मुखको क्यान्सर छ भनेपछि उनी छाँगाबाट खसेजस्तो भइन् । दसबर्षदेखि स्वास्थ्यको पर्वाह नगरी साहुको तरकारीबारीमा बिषादी छर्केको झल्झली याद आयो । अहिले गाउँपालिकाले मासिक पाँच हजार औषधी खर्च त भर्छ, त्यसले निको हुने हो कि होइन, कसैले किटान गरेर भन्न सकेका छैनन् । बेलामा होश नपु¥याएकोमा उनी पछुताउनु शिवाय कुनै बिकल्प बाँकी छैन ।

गण्डकी गाउँपालिकाले ६१ जना क्यान्सरका बिरामीलाई मासिक नियमित पाँच हजार रुपैयाँका दरले औषधी उपचार खर्च दिँदै आएको छ । त्यस्तै १५ जना मृगौला फेल भई डाइलासिस गरिरहेका बिरामीलाई पनि भत्ता दिँदै आएको छ ।
सबैभन्दा धेरै वडा नं. २ मा १८ जना र वडा नं. ८ मा १५ जना यस्ता भत्ता पाउने बिरामी छन् । वडा नं. ७ मा सातजना र वडा नं. ६ मा छ जना क्यान्सर पिडित बिरामी रहेको वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।
बिरामी हुनेहरु सबै व्यवसायिक तरकारी किसानहरु हुन् । गण्डकी गाउँपालिकाका व्यवसायिक तरकारी किसानहरुमा बिगत चार पाँच बर्ष यता क्यान्सर तथा मृगौलाको रोग बढिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ । ‘यी क्यान्सरका बिरामीहरु प्रायजसो सबैजना व्यवसायिक तरकारी किसानहरु हुन्’, स्वास्थ्य शाखा प्रमुख कुमार सुनार भन्छन्, ‘के कारणले यस्तो भयो भनेर किटानका साथ भन्न त सकिन्न, तर असुरक्षित तरकारी खेती प्रणालीले गर्दा यहाँका किसानहरुमा क्यान्सर र मृगौला फेललगायतका समस्या बढिरहेको हुनसक्छ ।’ बिरामीहरुमध्य अधिकांशलाई पाठेघरको मुखको क्यान्सर, घाँटी तथा फोक्सोको हुने गरेको उनको भनाइ छ ।
वडा नं. ८ का एक वडा सदस्यले क्यान्सरको उपचार गराइरहेका छन् । छालाको संक्रमण भएका बिरामीको संख्या झन् उल्लेख्य रहेको पालिकाको भनाइ छ । ‘विशेष गरी दुईबर्षदेखि क्यान्सर, मृगौलालगायतका नसर्ने रोगका बिरामीको संख्या बढिरहेको छ’, उनी भन्छन्, ‘तरकारी बालीमा रासयनिक मल र विषादीको अत्याधिक प्रयोग गर्ने गरेकाले यो अबस्था आएको हो कि भन्ने हाम्रो कच्चा बुझाइ छ । ।’ यो चिन्ताजनक अबस्थाबारे गाउँसभाहरुमा पनि पटक पटक कुरा उठ्ने गरेको उनको भनाइ छ । ‘गाउँसभाहरुमा पनि यस विषयमा कुरा उठिरहन्छ’, उनले भने, ‘तरकारी बालीमा प्रांगारिक मल प्रयोग गर्न लगाउने, रासयनिक मल तथा विषादी प्रयोग गर्नुपरेमा पिपिई सेट लगाउनु पर्ने भन्ने नियम पनि बनाएका छौँ ।’ वडाहरुमा केही थान पिपिई सेट वितरण गरेको पनि उनले बताए ।
व्यवसायिक तरकारी किसानहरुमा क्यान्सर व्यप्त रहेको बारेमा विभिन्न संघसंस्थाले पनि अध्ययन अनुसन्धान गरिरहेका छन् तर प्रतिवेदन बुझाएका छैनन् ।
क्यान्सरका बिरामीको संख्या बढ्नु चिन्ताजनक रहेको वडा नं. ७ का वडाअध्यक्ष तुलसी रेग्मीको भनाइ छ । ‘हाम्रो पालिकामा दुईहजार भन्दा धेरै तरकारी किसानहरु छन् । उनीहरु तरकारी बालीमा हेलचेक्य्राइँपूर्वक रासयनिक मल, विषादीको प्रयोग गर्छन्’, उनी भन्छन्, ‘जसले गर्दा आफू पनि बिरामी हुन्छन्, उपभोक्तालाई पनि बिरामी बनाउने सम्भावना छ ।’ रासयनिक मल र विषादी प्रयोग न्यूनिकरणका विषयमा ठाउँठाउँमा होर्डिङबोर्डहरु राखेर जनचेतना फैलाएको उनले बताए । साथै पालिकाले विषादी न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु गरिरहेको उनले बताए । ‘अभियान त चलाएका छौँ तर, प्रभावकारी भएको छैन’, उनले भने ।
क्यान्सरका बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले बिरामीहरुको पहिचान गर्ने, खानपानमा सुधार, औषधी उपचार खर्चको दायरामा ल्याउने, अभिमुखीकरण गर्ने, सन्तुलित भोजनमा जोड दिने, विषादी रहित खानेकुरा खुवाउने, बिरामीको मनोबल बढाउने लगायतका कार्यक्रममा जोड दिएको स्वास्थ्य शाखा प्रमुख सुनारको भनाइ छ ।
विशेष गरी रासयनिक मल, विषादी छरेको भोलिपल्टै तरकारी टिपेर बजारमा लैजाने गर्दा किसान पनि बिरामी पर्ने, उपभोक्ता पनि बिरामी पर्न सक्ने अबस्था आएको वडा नं. ८ का अध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिए ।
प्राय किसानहरु तरकारी बारीमा अत्याधिक बढि मात्रामा बिषादी र रासयनिक मल प्रयोग गर्न उद्धत रहेको स्थानीय सामुहिक कृषि उत्पादन सहकारी संस्थाका सचिव विजय रुपाखेतीको भनाइ छ । तर यही विषादी र रासयनिक मलको प्रयोगले किसानमा क्यान्सर भयो भन्न नमिल्ने उनको तर्क छ । ‘तरकारी बालीमा अत्याधिक विषादी प्रयोग गरेको पनि सही हो, स्वास्थ्य शाखाले दिएको क्यान्सर पिडितको तथ्यांक पनि सही नै होला, तर विषादीकै कारण क्यान्सर भएको भन्नचाहिँ मिल्दैन’, रुपाखेती भन्छन्, ‘के कारणले यति धेरै किसान क्यान्सरबाट संक्रमित भए भन्नका लागि विशेष अध्ययन गर्नुपर्छ ।’
ब्यापक लापार्बाही
आम्दानीको लोभमा किसानहरुले स्वास्थ्यमा हेलचेक्र्याइँ गर्ने गर्ने गरेको एक तरकारी किसान ढुण्डीराज मरहट्टा बताउँछन् । सरकारी निकायले विभिन्न तालिम दिने गरेको भए पनि किसानहरुले व्यवहारमा नउतार्ने गरेको उनको भनाइ छ । ‘कुनै सिजनमा कुनै तरकारीले राम्रो भाउ पाइरहेको छ भने र त्यसमा लाइकिरा लागेको छ भने जसरी पनि त्यो किरा मार्नुपर्छ भनेर जथाभावी विषादी प्रयोग गर्ने चलन छ’, मरहट्टा भन्छन्, ‘कृषि प्राविधिकले १० एमएल विषादी राख्नु भनेको छ भने पसलेले १५ एमएल राख्नु भनेर दिन्छन् । पसलेले १५ एमएल राख्नु भने पनि किसानले २० एमएल राखिदिन्छ । स्वास्थ्य देख्दैनन्, पैसा मात्र देख्छन् । यही समस्या हो ।’ आजै विषादी राखेको तरकारी भोलिपल्ट बजारमा लाने गरेको पनि उनको भनाइ छ ।
नियमक निकायको पर्याप्त निगरानी नभएको सामुहिक कृषि उत्पादन सहकारी संस्थाका सचिव विजय रुपाखेती बताउँछन् । ‘सरकारी निकायहरुले तालिम र आवश्यक सरसामान नदिएको पनि होइन, अर्गानिक उत्पादनका लागि जैविक मल बनाउने नीति नबनाएको पनि होइन तर, व्यवहारमा उतार्न सकिएको छैन’, उनी भन्छन्, ‘जसरी तालिम दिइएको छ, त्यो व्यवहारमा उतारिएको छ कि छैन भनेर बारम्बार नियमक निकायको अनुगमनको खाँचो छ ।’ किसानकै लापार्बाहीले स्वास्थ्यमा ठूलो समस्या देखापर्ने उनको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्