
गोनपामा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन
डेङगु नियन्त्रणका लागि गोरखा नगरपालिकाले ‘लाम्खुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरेको छ । शुक्रबार गोरखा सदरमुकाम स्थित कट्टेलचोकदेखि आयुर्वेदिक चोकसम्म सरसफाई कार्यक्रम गरेर नरपालिकाले अभियान संचालन गरेको हो ।
डेङगु लगायत किटजन्य रोग नियन्त्रणका लागि लार्भा खोजी गरी नष्ट गर्न सो अभियान संचालन गरिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुबप्रसाद घिमिरेले जानकारी दिए । ‘खोलखोले साइडमा ग्यारेजहरु धेरै छन् । त्यहाँ डेङ्गुको जोखिम बढ्नेहुँदा त्यस क्षेत्रलाई प्राथामिकतामा राखेर अभियान संचालन गरेका हौँ’, उनले भने । अभियान अन्तरगत लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लार्भा नष्ट गर्ने तथा सरसफाई कार्यक्रम संचालन गरिएको उनको भनाइ छ । अभियानलाई निरन्तरता दिइने उनले बताए ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको पालिकाको भनाई छ ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको अध्यक्षतामा संचालित अभियानमा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायहरु लगायतको उपस्थिति रहेको थियो ।




