| मङ्लबार, कार्तिक २४, २०८३

प्रशासन कार्यालयमै थन्कियो करिव ३८ हजार राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालयमा करिव ३८ हजार राष्ट्रिय परिचय पत्र थन्किएर बसेको छ । तयार भएर आइसकेको कार्ड लिन नआएका कारण ३७ हजार ४०७ वटा परिचय पत्र कार्यालयमै थन्किएको हो । ‘मान्छेहरु बनिसकेको कार्ड पनि लिएर जाँदैनन्’, कार्यालयका सौरभ ढकालले भने, ‘कार्ड लिएर जानुस् भनेपनि सेवाग्राहीहरु पाँच मिनेट पनि कुर्न नसकेर परिचयपत्र नम्वर मात्र हेरेर जान्छन् ।’

परिचयपत्रको नम्वर मात्र भएपनि काम चल्ने भएकाले प्राय सबैले नम्वर मात्र सोधेर जाने गरेको उनले बताए । परिचय पत्र लिने भन्दा नम्वर सोध्नकै लागी मात्र कार्यालयमा दैनिक १२० जनाका दरले सेवाग्राही आउने गरेको उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्र लिनका लागि दैनिक ५० देखि ६० जना आउने गरेका छन् ।

परिचयपत्र बनाउनका लागि भने दैनिक ७० देखि ८० जना आउने गरेको उनले बताए । बनेर आएको परिचयपत्र लिनका लागि व्यक्ति स्वयम उपस्थित हुनुपर्ने भएकाले पनि धेरै कार्ड कार्यालयमै थन्किएको ढकालको भनाई छ । ‘कार्ड बनाएका अधिकांश बैदेशिक रोजगारिमा गएकाले पनि उनीहरुको कार्ड प्रशासनमै थन्किएको हो’, उनले भने ।

गोरखामा राष्ट्रिय परिचयपत्रका लागी २०७७ देखि विवरण संकलन भएपनि करिब तीन वर्षपछि मात्र कार्ड छपाई भएर जिल्ला आएको हो । कुल ४४ हजार ६५४ कार्ड आएकोमा साउनसम्ममा कार्यालयबाट जम्मा ७ हजार २४७ जनाले मात्र लिएको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ ।

राज्यले प्रदान गर्ने सेवा सुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको छ । परिचयपत्र बनाउनका लागि नागरिकता, विवाह दर्ता, बसाइसराइको सक्कल कागजात आवश्यक पर्ने बताइएको छ ।

राज्यले प्रदान गर्ने सेवा सुविधा र अधिकार नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्