
धार्चेका गाउँहरुको रीति जोगाउन गोठ समिति
प्रतिक्षा आलेमगर ।
विकट मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरुमा ‘गोठ समिति बैठक’ बस्न भ्याई नभ्याई छ । खेतबारीमा कामको चटारे परिरहेको बेलामा परम्परा धान्न गोठ सभा गर्ने क्रम पनि जारी छ । धार्चे गाउँपालिका–७ मा पर्ने खानीगाउँमा शनिबार मात्र गोठ समितिको बैठक सम्पन्न भएको छ । समितिको बैठकले सोमबार गोठ हुल्ने (लेकबाट ल्याएका बस्तु गाउँमा हुल्ने) निर्णय भएको वडा सदस्य पन्दुर गुरुङले जानकारी दिए ।
बैडठक गाउँको चौतारीमा सम्पन्न भएको थियो । बैठकमा गाउँभरीका करिब ९० घरधुरीले सहभागिता जनाएको उनले बताए । ‘गोठ सभा त हाम्रो पुराने रीति हो, यसले समग्र गाउँलेहरुलाई नियममा बाँध्ने काम गर्छ’, उनले भने, ‘ यसले चरन र व्यक्तिगत जग्गाको साँधसीमाना हेर्छ । कसैको गाईबस्तु बालीमा पसे, नपसेको हेर्छ । कारबाही गर्नुपरे गर्छ । गाउँको रीतिथिति जोगाउँछ ।’ गोठ सभामा सम्पुर्ण गाउँलेहरु अनिवार्य रुपमा सहभागि हुनुन पर्ने तथा सभाका नीति नियमहरुलाई पालना गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
गुम्दालगायत लाप्राक, लापु, सिङ्ला, उहियालगायतका दुर्गम गाउँहरूमा गोठ समितिले गाउँका मुद्दा मामिला मिलाउने काम गर्छ । कर उठाउने, समितिले कुन लेक कसको, कुन चरन, खर्क कसको, अरूको लेक, खर्क, चरनमा आफ्नो गाउँलेको गोठ गएमा छेक्ने, अरू गाउँका गाईबस्तु आए जरिबाना गर्नेलगायतका काम गोठ समितिले गर्ने गर्छ ।
‘गोठ समितिले गोठ कहिले लेकमा लैजाने, कहिले गाउँ हुल्ने, जाँदा सबैजना सँगै हिँड्ने, खाने बस्ने लगायतका नियमहरु बनाउँछ’, धार्चे गाउँपालिका–५ गुम्दाका वडा अध्यक्ष भिम प्रसाद गुरुङले भने, ‘समितिले समग्र गाउँको बस्तु व्यवस्थापन हेर्ने गरेको छ ।’ समितिले लेकमा गोठ लैजान निर्देशन दिएपछि पनि गाउँमै बस्तु राखे बस्तु अनुासरको जरिवाना लिने गरेको उनले बताए ।
दुर्गम मानिने गुम्दामा यही भदौ ११ गते गोठ हुल्ने निर्णय भएको वडा अध्यक्ष गुरुङले बताए । ‘सबै गाउँलेहरुले मकै भित्राएपछि दिन हेराएर गोठ हुल्ने चलन छ’, उनले भने, ‘त्यसपछि बस्तुहरुलाई गाउँमा घाँस नसकुन्जेल गाउँमै राखिन्छ । घाँस सकिएपछि पुनः गोठ लैजानका लागी अर्को गोठ समिति बैठक हुन्छ ।’ वडा अध्यक्षले गोठ, खर्क, चरन, छिमेकी गाउँको वनजंगलको, खर्क, चरनको साँधसीमाना नचिन्न पनि सक्ने भएकाले गोठ समिति गठन गर्नुपरेको उनी बताउँछन् ।
चरन र खर्क बन्द गर्ने, खोल्ने, रेखदेख गर्ने काम गोठ समितिको हो । धार्चेको गाउँहरुमा कोदो, मकै, आलु भित्र्याइसकेपछि बस्तुभाउ बारीमा झार्नु परेमा पनि गोठ समितिले अनुमति दिनुपर्ने पुरानो रीति छ । गोठ समितिले कसको बस्तुभाउ कुन हो, कतिवटा छन् भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ ।




