
शहिद लखनभित्रका १८ वटा सहकारीको दर्ता खारेज
शहिद लखन गाउँपालिका भित्रका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । मापदण्ड पूरा नगरी सञ्चालित सहकारीहरुको दर्ता खारेज गरिएको गाउँपालिकाले जनाएको छ । यही साउन ४ गते बसेको गाउँ कार्यपालिका बैठकले उक्त संस्थाहरु खारेज गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको सहकारी ऐन २०७५ मा रहेको प्रावधान अनुरुप कार्य नगरेको र दुई बर्षभन्दा बढी समयदेखि लेखा परीक्षण, साधारण सभा नगरेको र नियमित रुपमा कार्यालय संचालन भएको समेत नदेखिएकाले ती संस्थाहरुको दर्ता खारेज गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।
वडा नम्वर १ को पञ्चकन्या बचत तथा ऋण सहकारी, बक्राङ बचत तथा ऋण सहकारी, नवीन उपभोक्ता सहकारी, वडा नम्वर २ को बेतेनी पर्यटन सहकारी, वनौती दुग्ध उत्पादक सहकारी, वडा नम्वर ३ को सिद्ध लखन बचत तथा सहकारी, मनकामना कफी उत्पादक कृषि सहकारी र मनकामना उपभोक्ता सहकारीको दर्ता खारेज गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।
त्यस्तै वडा नम्वर ४ को आरलाङ्दी देवी बहुउदेश्यीय सहकारी, ताक्लुङ उपभोक्ता सहकारी, वडा नम्वर ५ चण्डेश्वरी कफी उत्पादक कृषि सहकारी, वडा नम्वर ६ को गोरखा मौरी पालन सहकारी, वडा नम्वर ७ को भुवनेश्वरी बचत तथा ऋण सहकारी र बुंकोट सिर्जनशिल बचत तथा ऋण सहकारीको पनि दर्ता खारेज गरिएको उनले जानकारी दिए ।
पालिकाले वडा नम्वर ९ को नामजुङ जनसेवा उपभोक्ता सहकारी, भूमि बिकास बचत तथा ऋण सहकारी, बालेश्वरी जनकल्याण बचत तथा ऋण सहकारी र बालकन्या कृषि सहकारीको पनि दर्ता खारेज गरेको छ । पटक पटक सूचना जारी गर्दा समेत आवश्यक विवरण नबुझाएको र सम्पर्कमा पनि नआएकाले खारेज गरिएको उनले जानकारी दिए । पालिकाले सूचना जारी गर्दै खारेज गरिएका यी संस्थाले तिर्न वा बुझाउन पर्ने कुनै दायित्व भए फरफारक गर्न र उक्त संस्थाको नामबाट कुनै पनि कारोवार नगर्न सचेत गराएको छ ।




