
सानासहरी खानेपानीको मुहानमा बाढी पस्यो, करिब डेढ करोड रुपैयाँको क्षति
गोरखा सदरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेको छ । बुधबार राती अबिरल वर्षापछि पसेको बाढीले करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको आयोजनाले जनाएको छ ।
सहिदलखन गाउँपालिका ७ छाङ्खोला र ढाक्रेखोलास्थित मुहान क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य पाईपमा पूर्ण रुपमा क्षति भएको आयोजनाकी अध्यक्ष सिता खड्काले जानकारी दिइन् । ‘करिब ५० मिटर पाईपमा क्षति पुगेको छ’, उनले भनिन्, ‘यस्तै एक नंम्बर ट्याङ्की वरिपरि लगाइएको तारेबार, फिल्टर र ट्याङ्कीको बीचमा लगाइएको पर्खाल र पानीको मुहानमा समेत क्षति पुगेको छ ।’
पाईपलाईनको मर्मतको काम सम्पन्न नभएसम्म नियमित पानी वितरणमा समस्या हुने उनले बताइन् । नियमित रुपमा पानी वितरण नहुँदा १० हजारभन्दा धेरै जनसङख्या प्रभावित हुने आयोजनाको भनाइ छ । तत्कालका लागि भने अस्थायी रुपमा पानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिता खड्काको भनाइ छ । ‘अस्थायी रुपमा कालो पाईप जडान गरेर पानी वितरण गर्ने तयारी भइरहेको छ’, उनले भनिन्, ‘२–३ दिनभित्र मर्मतसम्भारको काम सक्नेगरी काम भइरहेको छ ।’
फुलफेजमा पानी वितरण गर्न भने केही समय लाग्ने उनले बताइन् । ‘मुहान मर्मतका लागि सहयोग गर्न खानेपानी विभागमा समेत पत्रचार गरेका छौँ’, अध्यक्ष खड्काले भनिन्, ‘भोलिको दिनमा यस्तो घटना नदोहोरियोस भन्नाका लागि मुहान संरक्षण गर्न सबैजना दिनरात लागि परेका छौँ ।’




