
फलोअप समाचार : विद्यार्थीको सक्कली डकुमेन्ट नराख्न इन्स्टिच्यूटलाई निर्देशन, अत्याधिक जरिवाना लिए कारबाही
बिदेशी भाषा पढाउनका लागि जिल्लामा खुलेका इन्स्टिच्यूटहरुले विद्यार्थीको सक्कल डकुमेन्ट लामो समयसम्म बन्धक बनाएर नराख्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा वुधवार बसेको इन्स्टिच्यूटहरुसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले विद्यार्थीका सक्कली कागजात लामो समयसम्म नराख्न निर्देशन दिएका हुन् । जापानी भाषा लगायतका विभिन्न भाषा पढ्न आउने विद्यार्थीहरुले गुनासो गरेपछि प्रशासन कार्यालयले सो बैठक आव्हान गरेको थियो ।
नियमानुसार बाहेक कुनै पनि बहानामा विद्यार्थीसँग जरिवाना रकम असुल नगर्न पनि प्रशासनले निर्देशन दिएको छ ।
केही दिनअघि जिल्ला सदरमुकाममा संचालित इमेज इन्स्टिच्यूट प्रालिले विद्यार्थीको सक्कल डकुमेन्ट राख्ने र फिर्ता मागेमा जरिवाना तिर्नुपर्ने भन्दै २० हजार रुपैयाँ लिने गरेको बारे संचार माध्यममा समाचार प्रकाशन भएको थियो ।
चौतर्फी आलोचना हुन थालेपछि प्रशासन कार्यालयको अगुवाइमा बैठक बसेर सो निर्णय गरेको हो । बिनादर्ता तथा बिनाअनुमति इन्स्टिच्यूट संचालन नगर्न पनि प्रशासनले कडाइका साथ निर्देशन दिएको छ । ‘सम्बन्धित पालिकामा दर्ता नगरेको भए पन्ध्र दिनभित्र दर्ता गराई संचालन अनुमति लिन पनि भनेका छौ,’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने ।
अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देश गर्दै प्रशासनले कानून एवं कार्यविधिको परिधिभित्र रहेर इन्स्टिच्यूट संचालन गर्न भनेको छ ।
बैठकमा गोरखा नगरपालिका वडा नम्वर ६, ७ र ८ मा संचालित करिव १३ वटा इन्स्टिच्यूटका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।




