
गोरखामा यस बर्ष पनि पशुमा पूर्णखोप र कुकुर, घोँडा बन्ध्याकरण कार्यक्रम हुने
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले यसबर्ष पनि बिगत बर्षमा जस्तै पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । पशु स्वास्थ्य सुदृढ गर्नका लागि कार्यालयले यसबर्ष पनि बिगत बर्षको पूर्णखोप अभियानलाई निरन्तरता दिन लागेको हो ।
साथै कुकुर तथा घोडाबन्ध्याकरणका लागि पनि यो बर्ष बजेट बिनियोजन भएको कार्यालयले जनाएको छ । यो आर्थिक वर्ष २०८१÷०८२ को बजेट ६ करोड ४२ लाख रहेको छ । यो आव पुँजीगत तर्फ ११ लाख ८० हजार, प्रशासनिक चालु तर्फ १ करोड ३४ लाख ६६ हजार र कार्यक्रम तर्फ ४ करोड ८५ लाख ६४ हजार बिनियोजन भएर आएको कार्यालय प्रमुख शर्मिला कुमालले जानकारी दिइन् ।
बाख्रा पालन कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताइन् । यो वर्ष ‘लोकमार्ग कोरिडोर लक्षित’ मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम अन्तरगत मात्र १ करोड १६ लाख रकम बिनियोजन भएको प्रमुख कुमालको भनाई छ । ‘यो वर्ष अरुभन्दा बाख्रापालन लक्षित कार्यक्रम प्राथमिकतामा परेको छ,’ उनले भनिन्, ‘बाख्रा पालन कार्यक्रम अन्तरगत तीन शीर्षकमा बजेट विनियोजन भएको छ ।’ उनका अनुसार बाख्रा स्रोत केन्द्र स्थापनाका लागि ८० लाख रुपैँया बजेट परेको छ ।
जसमध्ये मध्यपहाडी लोकमार्गले छोएका पालिकाहरु ९पालुङटार नगरपालिका, सिरानचोक, भिमसेन, बारपाक सुलिकोट र आरुघाटमा केन्द्र स्थापनाका लागि ५० लाख र अन्य पािलकाका लागि ३० लाख आएको उनले जानकारी दिइन् । यसैगरी, घाँस स्रोत केन्द्र तथा नसर्री स्थापनाका लागि २६ लाख रकम आएको कार्यालयले जनाएको छ ।
यो कार्यक्रम पनि कोरिडोर क्षेत्रमै संचालन हुने बताइएको छ । खसी–बोकाको मासुमा प्रति केजीका दरले अनुदान दिने कार्यक्रम अन्तरगत पनि १० लाख रुपैँया आएको कार्यालय प्रमुख कुमालले बताइन् । ‘सबै अनुदानहरु कृषि सहकारीमार्फत नै वितरण गर्ने प्रावधान छ, कुनै पनि सहकारीमा आबद्ध नभएका नीजि फर्महरुले भने अनुदान पाउँदैनन्’, उनले भनिन् ।
पशुमा पुर्ण खोप कार्यक्रम संचालनका लागि १ करोड ६० लाख ९४ हजार बिनियोजन भएको छ । कुकुर बन्ध्याकरणका लागि ४ लाख बिनियोजन भएको छ भने उत्तरी गोरखामा घोडा तथा खच्चड बन्ध्याकरणका लागि २ लाख बजेट आएको कार्यालयको भनाई छ ।




