
आरुघाटमा भेटियो अति संकटासन्न चाइनिज सालक
अति संकटासन्नको सूचीमा पर्ने चाइनिज सालक गोरखाको आरुघाटमा भेटिएको छ । गत मंगलबार जंगलबाट निस्किएर आरुघाट गाउँपालिका ९ धमलाचोकस्थित एक स्थानीयको घरमा आएको अबस्थामा चाइनिज सालक भेटिएको डिभिजनल वन कार्यालय गोरखाले जनाएको छ ।
आफ्नो घरमा सालक आएको बारे स्थानीय घरवालाले इलाका प्रहरी कार्यालय आरुघाटमा खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिई सुरक्षितपूर्वक डिभिजनल वन कार्यालय गोरखालाई सो सालक हस्तान्तरण गरेको छ । सो सालकलाई गोरखा नगरपालिका वडा नं. ९ को उपयुक्त वन क्षेत्रमा छाडिएको डिभिजनल वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए ।
‘उ बस्ने दुलोमा पानी पसेपछि सालक बाहिर निस्कन्छ । यसरी नै निस्किएर स्थानीयबासीको घरमा पुगेको रहेछ’, पौडेलले भने, ‘घरवालाले इप्रकामा खबर गरेछन् । इप्रकाले वन कार्यालयलाई बुझायो अनि हामीले वनमा सुरक्षितपूर्वक छाड्यौँ ।’ पाखेमाछा भनेर चिनिने सालक नेपालमा इण्डियन र चाइनिज दुई प्रजातिका पाइन्छन् । आरुघाटमा भेटिएको सो सालक चाइनिज प्रजातिको रहेको पौडेलले बताए ।
अवैध चोरी निकासी हुने भएकाले सालकलाई सरकारले कडा कानून बनाएर संरक्षणको व्यवस्था गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारीमा सूचीकृत सालकको अवैध चोरी निकासी गरेमा कडा कारबाहीको व्यस्था छ । संकटासन्न वनस्पति तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न बनेको ऐन २०७३ अनुसार यसको अवैध व्यापार गरेमा ५ देखि १० लाख रुपैयाँसम्म जरिबाना तथा ५ देखि १५ बर्षसम्म कैद वा दुवैको सजायँको व्यवस्था छ ।




