| मङ्लबार, कार्तिक २४, २०८३

अँगेनोको उज्यालोको भरमा रात गुजार्दै चुम्चेतबासी

उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँका बासिन्दा अहिले अँगेनुको उज्यालोका भरमा रात गुजार्ने गरेका छन् । गाउँको लघुजलविद्युत आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका ६ चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २५० घरधुरीका बासिन्दा दाउराको उज्यालोको भरमा जीवन गुजार्ने गरेका हुन् ।

घरमा बत्ती नभएपछि गाउँलेहरु स्यूसाँझै खाना खाइवरी सुत्ने गरेका स्थानीय दिपेश गुरुङले जानकारी दिए । ‘आज १२ दिन भयो, हामी अँध्यारोमा बसेको’, स्थानीय दिपेश लामाले भने, ‘अस्ति साउनको १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत आयोजना बगायो । त्यसपछि यहाँका २५० घरका बासिन्दा साँझ छ बजेतिर खाना खाएर सातबजेतिर सुत्ने गरेका छौँ ।’ कसैकसैको घरमा २०७३ सालमा चिनियाँ सरकारले राहतस्वरुप दिएको सोलार टुकी छ । ‘त्यो पनि धेरैजसोको बिग्रिसकेको छ । कसैकसैको होला, त्यस्तै ३०, ४० घरमा’, उनी भन्छन्, ‘अरुचाहिँ धेरैजसो साँझमै ओछ्यानमा जान्छन्, कोहीकोहीचाहिँ अगेँनुको उज्यालोको भरमा बस्छन् ।’

विद्युतविहिन भएपछि बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी गर्न पाइएको छैन । मोबाइल चार्ज गर्न पनि नपाएको गाउँलेको गुनासो छ । ‘गाउँमा विजुली आयो भनेर टोलटोलमा कुटानी, पिसानीको मिल राखेका थिए । अहिले त सबै ठप्पै भयो’, अर्का स्थानीय भुछिमा लामा भन्छन्, ‘विजुली आएपछि पानीघट्टा नि भत्कियो । घट्टा बनाउने ठाउँ पनि छैन । अहिले गहुँ, मकै जाँतोमा पिसेर निर्वाह चलाइरहेका छौँ’, खाङ्ग्रिङका लामा भन्छन्, ‘मोबाइल चार्ज गर्न नपाएर सबैको मोबाइल स्वीच अफ भएर बसेका छन् । हामी दुर्गमका मान्छे, आफन्तहरुसंग मोबाइलमा कुराकानी गर्न पनि पाइएको छैन, इन्टरनेट चलाउन पनि नपाउँदा अन्धकारमा बसेजस्तै भएको छ ।’

लगातारको झरीले सोलार प्रविधि चार्ज गर्न पनि नपाएको गाउँलेको भनाइ छ । सो गाउँमा केन्द्रीय प्रशारणको विजुलीबत्तीको पहुँच पुगेको छैन । गाउँलेहरुले गते २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत आयोजनाको बत्ती बाल्ने गरेका थिए । गत साउन १२ गते रातको दुईबजे चुम्चेत खोला(ताम्जाखोला)मा उत्पादित सो लघुजलविद्युत आयोजनाको मुहान र कुलो सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताउँछन् ।

कादुरी एग्रिकल्चरल एड एसोसिएशन ब्रिटिस गोर्खाज्ले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि गाउँलेहरु चिन्तित छन् । ‘पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो’, अध्यक्ष लामा भन्छन्, ‘अहिले बत्ती बाल्न पाइएको छैन, मोबाइल चार्ज गर्न पनि पाइएको छैन । गहुँ, कोदो यहाँको मुख्यबाली हो, त्यो पनि कुट्न पिस्न पाइएको छैन । फर्निचर उद्योगहरु चल्न पाएनन् । रेडियो, टेलिभिजन पनि हेर्न, सुन्न पाइएन । अन्धकारमा परेको भनेको यस्तै होला भनेर सोचिरहेको छु ।’

सो घटनास्थलको विपत जोखिम न्यूनिकरणको टोलीले अवलोकन गरेको थियो । ‘अलिअलि मर्मत गरेर हुने भए गाउँपालिकाले गरिदिन्थ्यो । यहाँ मर्मत गर्ने होइन, नयाँ बनाउनु पर्छ’, उनले भने, ‘त्यसका लागि कादुरी आफै आएर अनुगमन गर्नुपर्ने रहेछ । उनीहरुले पक्कै पनि बनाइदेलान् भन्ने भरोशामा बसेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्