| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक–लाप्राक सडक एक महिनादेखि अवरुद्ध

मेलिना बराम ।
पहिरोका कारण बारपाक–लाप्राक सडक एक महिनादेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि स्थानीयले आवातजावतमा पनि निकै समस्या खेप्दै आएका छन् । सडकको विकल्पमा पुरानो गोरेटो बाटो प्रयोग गरेर आवातजावत गरिरहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकका वडाध्यक्ष किसान गुरुङले बताए ।

निरन्तर परेको वर्षाका कारण असार दोस्रो हप्ताबाट पहिरो गएर सडक अवरुद्ध बनेको थियो । माम्चे डाँडामा आएको पहिरोले सडक अवरुद्ध बनेको उनले बताए । ‘असार दोस्रो हप्ताबाट सडक बन्द छ,’ उनले भने, ‘माम्चे डाँडाबाट झरेको पहिरोले त्यो खण्डमा सडकको कुनै नामो निशान छैन ।’

उक्त पहिरोका कारण धार्चे गाउँपालिका वडा नं. ४ र ५ को लाप्राक, गुम्दा, सिङ्लाका स्थानीयहरु समस्यामा परेका छन् । त्यहाँका बासिन्दाहरु सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा जानका लागि गाडी चढ्न कि त बारपाक कि त माछिखोला पुग्नु पर्ने बाध्यता छ । यी दुवै ठाउँ पुग्न करिब तीन, चार घण्टासम्म लाग्छ । ‘लाप्राकबाट गाडी चढ्न पाइँदैन । साढेँ तीन घण्टा हिडेर बारपाक पुग्नु पर्छ, भारी बोक्यो भनी त झन एक दिन नै लाग्छ’, वडाध्यक्ष गुरुङले भने, ‘माछाखोला पुग्न पनि उस्तै हो । गुम्दा र सिङ्लाका बासिन्दालाई पनि उस्तै समस्या छ ।’

अकस्मात बिरामी वा घाइते भएमा बोकेर नै अस्पतालसम्म पु¥याउन पर्ने बाध्यता रहेको उनले गुनासो गरे । ‘कोही बिरामी परिहाल्यो भने पनि बोकेर नै लैजानु पर्छ, भए स्टे«चर, डोकोमा नभए मान्छेले नै भएर नि बोकेर लाग्नु पर्छ,’ उनले भने, ‘हेली चार्टर गरौं भने पनि पैसा हुदैँन, साह्रै दुःख छ ।’ सदरमुकामसम्म आउनका लागि बिहान ३ बजेदेखि हिँडेर बस भेटाउन पुग्नु पर्ने उनले बताए । सडक बनाउन जिम्मा लिएको ठेकेदारको लापरवाहीले स्थानीयले अहिले सास्ती खेप्नु परिरहेको उनको भनाई छ ।

‘ठेकेदारले जहाँ सजिलो छ, फराकिलो छ त्यहाँ चाहीँ वाल लगाउने, ग्याविनमा जाली भर्ने,’ उनले भने, ‘असजिलो साँघुरो ठाँउमा चाहीँ कुलो पनि नकाटेर छोडिदिए पछि पहिरो जाँदैन त ।’ पछिल्लो एक वर्षदेखि ठेकेदार नै सम्पर्कमा नआएको उनले बताए । ठेकेदार सम्पर्कमा नआएदेखि सडक स्तरउन्नतिको काम रोकिएको हो ।

यो कार्यक्रम प्रदेश सरकार अन्तरगतको आयोजना हो । बारपाक–लाप्राक सडक खण्ड निर्माणको लागि २०७७ साल असारमा शर्मा बिकोई जे.भि सँग सम्झौता भएकमो थियो । २०७९ असारमा दुई वर्ष भित्र सक्ने गरी ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो आर्थिक वर्षमा पनि बारपाक–लुप्सीपाखा सडक स्तरउन्नतिका लागि दुई करोड २० लाख बजेट विनियोजन भएको भौतिक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले २०८० जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप गरेको थियो । तर, उक्त थप भएको समयमा पनि काम सम्पन्न नभए पछि २०८१ बैशाख २० गते दोस्रो पटक म्याद थप गरिएको कार्यालय प्रमुख सुवेदीले बताए ।

आउँदो आर्थिक वर्ष २०८२ बैशाख मसान्तसम्म काम सक्ने गरी शर्मा एण्ड कम्पनीले काम गर्ने उनले जानकारी दिए । ‘यो भन्दा अघि शर्मा बिकोइ जे.भी अन्तरगतको बिकोइ कम्पनीले काम गरेको हो, गएको एक वर्ष कुनै काम हुन सकेन,’ उनले भने, ‘यो बर्खाभरि सम्भव छैन, भदौदेखि समयभित्रै काम सक्ने गरी शर्मा एण्ड कम्पनीले सडक स्तरउन्नतीको काम सुरु गर्छ ।’ उक्त सडकको हाल सम्म ५४ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तिय प्रगति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्