| आइतवार, कार्तिक २२, २०८३

सेतो मलको कालो बजार, सिजनमा मलको हाहाकार

प्रतिक्षा आलेमगर ।
धानखेतीको मुख्य सिजनमा मल नपाएको गोरखाका किसानहरुको गुनासो छ । मल पर्याप्त रहेको सरकारले दाबी गरिरहे पनि किसानले खेतको धानबालीमा मल राख्न नपाएको गुनासो गरिरहेका छन् । सरकारी अनुदानको मल नपाएका किसानले महंगो मूल्य तिर्न तयार हुँदा पनि किन्न नपाएको गुनासो गरेका छन् ।

सहकारीमार्फत मल वितरण गर्ने गोरखा नगरपालिका–१२ कुन्दुरटारको दरौदी कृषि सहकारीकी कृष्णकुमारी कुमालका अनुसार सो वडामा ८४० बोरा युरिया मलको माग छ । तर, ५७ बोरा मात्र आपूर्ति भएको उनी बताउँछिन् । यस्तै, कालो मल (बिओपी) भने १२० बोरा आएको उनी बताउँछिन् । ‘यो समस्या हाम्रोमा मात्र होइन, समग्र जिल्लाकै अबस्था यस्तै हो । अनुदानको मल किसानका लागि हात्तीको मुखमा जीरा हुन्छ’, उनले भनिन्, ‘मलमा हुने फोहोरी राजनीतिका कारण सहकारी र किसान दुवै खुसी छैनन् ।’

गोरखामा मल आपूर्ति गर्ने जिम्मा दमौलीस्थित मल डिपो शाखाको हो । तर, सो शाखाले जिल्लामा मल नपठाईदिँदा यहाँका कृषि सहकारीहरु नारायणघाट तथा वीरगन्जसम्म पुग्नु पर्ने बाध्यता रहेको कुमाल बताउँछिन् । ‘दमौलीको डिलरले तनहुँ, लम्जुङ कास्कीलाई नै मल पु¥याउन सकेको छैन भनेर जिल्लामा मल नै पठाउँदैन’, उनले भनिन्, ।

जिल्लाका स्थानीय तहहरुले सहकारीलाई मात्र नभएर एग्रोभेटलाईसमेत मल वितरणको जिम्मा दिन जरुरी रहेको उनको धारणा छ । ‘सहकारीले मात्र मल दिन पाउने भन्ने नीति ल्याएपछि किसानहरुले मलभन्दा धेरै दुख पाएका छन्’, उनी भन्छिन्, ‘न त हामी सहकारीहरुले काम गरेँ जस्तो भाको छ न किसान नै सन्तुष्ट छन् ।’ राज्यले ‘अनुदानमा मल पर्याप्त दिएका छौँ’ नाटक मात्र गर्ने गरेको उनको भनाइ छ ।

तर वास्तविक किसानहरु कालो बजारीको सिकार बनेको उनी बताउँछिन् । ‘मल बाँड्ने बेलामा सहकारीहरुलाई चौतर्फी रुपमा बिरोध आउँछ । कतिपय किसानहरु त मल नपाएर रुन्छन्, कराउँछन्’, उनले भनिन्, ‘कृषि सहकारीले मात्र मल वितरणको जिम्मा लिनुपर्ने नीति नै गलत छ ।’ सेतो मलमा कालो बजारी मौलाइरहेको कुमालको आरोप छ ।

‘अनुदानको मल एकहजार ४७ रुपैँयाँमा आउँछ तर, किसानहरुले कालोबजारीको मल प्रतिबोरा ३ हजार देखि ३५ सय रुपैँयासम्म तिर्न बाध्य छन् । अझै भन्ने हो भने कालोबजारीको मल किन्छु भन्दा पनि पाएका छैनन् ।’ पालिकाहरुले आफ्नो कोटा बढाउनु जरुरी रहेको उनको भनाइ छ । ‘मलको अभाव छ, पालिकाले पनि आवश्यता अनुसार कोटा बढाउँदैन । मल नपाएर कुनैबेला एउटा ट्रकमा ९ बोरामात्र मल राखेर ल्याउनु परेको थियो’, उनले भनिन् ।

चोरकाटेका वसन्त श्रेष्ठको गुनासो पनि उस्तै छ । सहकारीले मात्र मोल बाँड्न पाउने नीति ल्याएपछि किसानहरुले धेरै दुख पाएको उनी बताउँछन् । ‘हाम्रो सिरानचोक लगायत जिल्लाभरका किसानहरु अहिले महङ्गो दाम तिरेर मल खरिद गर्न बाध्य छन्’, उनले भने, ‘यसको जिम्मेवार अहिलेको नीति नै हो ।’ सहकारीले ल्याउने गरेको थोरै मलमा पनि घोटाला हुने गरेको उनले गुनासो गरेका छन् ।

‘मलको अभाव छ, त्यसमाथि पनि सहकारीहरुले आफ्नो सदस्यहरुलाई मात्र मल बाँड्छन्’, उनले भने, ‘सहकारीमा नबसेका किसानलेचाहिँ आफ्नो धानबालीमा मल राख्न नपाउने ?’ चितवन र वीरगन्जबाट सातसय बोरा मल ल्याएको भएपनि सहकारीकै सदस्यहरुले पनि प्रतिबोरा १५ सय रुपैयाँ तिरेर खरिद गरिरहेको उनी बताउँछन् । ‘यो सहकारीले मात्र बाँड्ने भन्ने नीति नै गलत छ ।

अब कुनै सहकारीमा आवद्ध नभएका किसानहरु चाँहि किसानै होइनन् ? कि सबै किसान सहकारीमा बस्नैपर्छ भनेर नियम बनाउनु प¥यो । नत्र उनीहरुचाँहि किसान् होइनन् त ? सरकार उनीहरुको पनि हो भने उनीहरुले पनि अनुदानको मल पाउनु पर्छ’ उनले भने, ‘स्थानीय सरकारको लापरबाहीको कारण यहाँका किसानहरु कालोबजारीको मल किन्न बाध्य छन् ।’
चोरकाटे लगायत आसपासको क्षेत्रमा इट्टा र काठ बोक्ने ट्रक/टिप्परहरुले ‘ब्ल्याक’मा मल ल्याएर बिक्री वितरण गर्ने गरेको उनको आरोप छ ।

पालुङटार–१० स्थित ‘शहिद दिदी उपभोक्ता सहकारी’मा आवद्ध रिषिराज धौरालीले पनि आवश्यकता अनुसार मल आपुर्ति नहुने गरेको बताएका छन् । ‘आवश्यकता अनुसारको मल आएको त रेकर्ड नै छैन्’, उनले भने, ‘अहिले त किसानहरुले पनि भनेजति पाइँदैन भनेर आफुखुसी बाहिरबाटै ल्याउने बानी परिसक्यो ।’ भनेजति मल नपाउँदा वीरगन्जदेखि ल्याउन नै समस्या पर्ने उनको भनाई छ ।

‘मल वितरणको काम साह्रै गाह्रो छ, किसानको माग पूरा गर्न पनि सकिँदैन अनि वीरगन्जदेखि मल ल्याउने कुरा पनि सहज छैन’, उनले भने । गोरखाको ११ वटा स्थानीय तहमध्ये उत्तरी भेगको धार्चे र चुमनुब्रीमा रासयनिक मल प्रयोग हुँदैन । यहाँ धान खेती हुँदैन । मकै, तरकारी खेती लगायतमा रासयनिक मल प्रयोग गर्ने प्रचलन छैन ।

धानखेती हुने आठ वटा पालिकाका लागि गोरखामा वार्षिक तीन हजार दुई सय १९ मेट्रिक टन युरिया, एक हजार ८७ मेट्रिक टन डिएपि, पाँच सय ४२ मेट्रिक टन पोटास मलको माग छ । तर, माग अनुसारको आपूर्ति भने हुन सकेको छैन् । मल नपाएपछि ब्यापारीले महँगो पैसा लिएर किसान ठग्ने गरेका छन् । किसानको घरसम्म मल लगिदिने, कुनै बिल बिजक नदिने, महँगोमा खरिद गरेको भन्दै तेब्बर शुल्क लिने गरेको गुनासो किसानहरुकै छ ।

प्रतिक्रिया दिनुहोस्