| मङ्लबार, कार्तिक २४, २०८३

स्क्रब टाईफस : गोरखामा १६ दिनमा ४९ जना सङक्रमित

स्क्रब टाईफसबाट जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ ।

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । १६ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाईफस पुष्टी भएको छ । यसैगरी भिमसेनथापा गाउँपालिकाको २ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

गत आव जिल्लाभर १६३ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । गतवर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टी भएको थियो । यस्तै, गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टी भएको थियो । स्क्रब टाईफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँसम्म बुट लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, मुसा नियन्त्रणको लागि उपयु क्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने र स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गए संक्रमण रोकथाम गर्न सक्ने बताइएको छ । साउन यता डेङ्गुबाट भने जिल्लाभर ३५ जना संक्रमित भएको स्वास्थ्य कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्