| मङ्लबार, कार्तिक २४, २०८३

यात्रुलाई अलपत्र पारेर यातायात व्यवसायीले गरेको बन्द फिर्ता

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा गरेको सार्वजनिक यातायात बन्दका कारण आइतवार जिल्लाका यात्रुहरुले निकै सास्ती भोग्नुप¥यो । चितवन जान बिहान दश बजेदेखि हरमटारीचोकमा आइपुगेकी उजेली पन्थ दिनभर सडकमै अलपत्र परिन् ।

‘बन्द भन्ने थाहा थिएन, आइहाले’, उनले भनिन्, ‘एउटा माइक्रो त आको थियो तर खैरेनीसम्मको भाडा ७०० भन्यो ।’ ७ सय भाडाले चितवन नै पुग्ने बताउँदै उनले बन्दको मौका छोपेर मनलाग्दी भाडा माग्ने गरेको उनले गुनासो गरिन् । पोखरा जानका लागि गाडी कुरिरहेकी घ्याम्पेशालकी सविना पुडासैनीले पनि बन्दको मौका छोपी गाडी व्यवसायीले मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् ।

‘डेढ सयमा खैरेनी पुग्नु पर्नेमा अहिले त ७ सय रे, त्यही पनि टेक्ने ठाउँ छैन’, उनले भनिन्, ‘पोखराका जाने भनेर केही गाडीहरु त थिए तर, लाग्ने भन्दा ३ गुणा बढी भाडा भनेपछि गइन ।’ उनी पनि बिहान ९ बजेदेखि हरमटारी आएर गाडी कुरेकी थिइन् । ‘गाउँमा बन्द भन्ने थाहा भएन, घ्याम्पेसालबाट ९ बजे बजार आइपुगेको थिए ।

चार बज्न लाग्दा सम्म गाडी पाइएन,’ उनले भनिन् । आफ्नो माग पुरा गर्न यातायात बन्द गरेर सर्वसाधारणलाई दुख दिनु गलत भएको उनको भनाइ छ । यता बन्दको मौका छोपेर ट्याक्सी व्यवसायीले यात्रुसँग मनपरी भाडा असुलेका छन् । साविकको भन्दा दोव्वर जस्तै भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् । यसअघि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे) लाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए ।

दिनभर बन्द रहेको यातायात साँझबाट भने चलेको छ । यातायात व्यवसायीले बन्द फिर्ता लिएसँगै यातायात संचालन भएको हो । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । आइतवार दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिने बताइएको छ ।
बन्दको नाममा जिल्लाका बिभिन्न निजी एवं सामुदायिक बिद्यालयहरुको बिद्यार्थी बोक्ने गाडी समेत ठप्प पारेको भन्दै नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले गम्भिर ध्यानाकर्षण गराएको छ ।

शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै कुनै पनि वहानामा बिद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर हुने गरि बन्द गरिएको बिद्यालयका गाडी सुचारु गर्न माग गरिएको थियो । तत्काल बिद्यालयका गाडीहरु सुचारु नगराएमा कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत नेविसंघले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्