| मङ्लबार, कार्तिक २४, २०८३

ड्युटीमा फर्किए पृथ्वीनारायण शाह

गोरखा संग्रहालयमा पृथ्वीनारायण शाहको पोशाकमा पुनः ड्युटी खटाइएको छ । विगत केही दिनयता हटाइएको डयुटीलाई शनिवारबाट पुनः निरन्तरता दिइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले जनाएको छ । तर पृथ्वीनारायण शाह बन्ने पात्र भने फेरिएका छन् ।

गोरखा नगरपालिका बिरेन्चोकका भिमबहादुर खनाललाई पृथ्वीनारायण शाह बनाएर खटाइएको छ । ४६ बर्षीय खनाल भूपू नेपाली सेना रहेको समिति अध्यक्ष सुरेशमान श्रेष्ठले बताए । ‘अहिले सिजन छैन भनेर हामीले केही दिन ड्युटीमा नराखेका हौ,’ उनले भने, ‘आजबाट सुरु गरायौ ।’ खनालसँग एक बर्षका लागि सम्झौता समेत भइसकेको उनले जानकारी दिए । सम्झौता अनुसार सोमवार वाहेक हरेक दिन उनको ड्युटी बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म हुन्छ ।

कालो दौरा सुरुवाल, शीरमा श्रीपेच, पटुकीमा खुकुरी र बायाँ हातमा तरबार लिएर दायाँ हातको चोर औँला ठड्याएर संग्रहालयको मुलगेटमा पृथ्वीनारायण शाह जस्तै बनेर उभिने उनको काम हो । संग्रहालय घुम्न आउने पर्यटकले उनीसँग सेल्फि र फोटो लिन्छन् र त्यस वापत केही शुल्क तिर्छन् । पृथ्वीनारायण शाहसँग सेल्फि र फोटो खिचे वापत मासिक २५ देखि ३० हजार सम्म रकम संकलन हुने गरेको समिति अध्यक्ष श्रेष्ठले बताए ।

‘पृथ्वीनारायण शाह बनेर ड्युटी गरे वापत खनालले मासिक १८ हजार पाउछन्, बाँकी रकम संस्थाको हकहितका लागि राख्ने गरेका छौ,’ उनले भने । यसअघि शिखरका हुमबहादुर उपरकोटी पृथ्वीनारायण शाह बनेर संग्रहालयमा उभिन्थे । २०७९ साल भदौ ५ गतेबाट संग्रहालय मुलगेटमा नक्कली पृथ्वीनारायण शाह बनाएर राख्न थालिएको हो । सबैभन्दा पहिले जिल्ला सदरमुकाम पदेलीका ओमबहादुर श्रेष्ठले सो भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्