
अजिरकोटमा निःशुल्क स्वास्थ्य बिमा अभियान संचालन
अजिरकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा अभियान संचालन भएको छ । पालिकाभित्रका दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्य सहित अभियान संचालन गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । मुटु फाउन्डेसनको सहकार्यमा अभियान संचालन भएको उनले जानकारी दिए ।
‘गरिब तथा विपन्न वर्गको स्वस्थ भएर बाँच्न पाउने अधिकार सुनिश्चितताका लागी अभियान संचालन गरेका हौ’, उनले भने, ‘अभियानका लागी नमस्ते प्रोजेक्ट फ्रान्सद्धारा संचालित मुटु फाउन्डेसनले पालिकासँग सहकार्य गरेको छ ।’ स्वास्थ्य बिमा गराउँदा आवश्यक पर्ने ३५ सय रुपैँया पालिका र मुटु फाउन्डेसनले संयुक्त रुपमा बेहोर्ने उनले बताए ।
अभियान गत मंगलबाट सुरु भएको हो । अभियान अन्तरगत पलिकाले विभिन्न ठाउँहरुमा शिविर संचालन गरी निशुल्क स्वास्थ्य बिमा गराईरहेकोे छ । ‘हामीले वडा वडामा गएर लक्षित वर्गको निशुल्क बिमा गराइरहेका छौँ’, पालिका अध्यक्ष देवकोटाले भने । करिब ७०० परिवारको निशुल्क बिमा गराउने लक्ष्य रहेको बताइएको छ ।




