| मङ्लबार, कार्तिक २४, २०८३

करिव १४ प्रतिशतले बढ्यो ट्राफिक राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आव करिव १४ प्रतिशतले राजश्व बृद्धि भएको हो । आव २०८०/८१ मा कार्यालयले ८५ लाख ७१ हजार राजश्व संकलन गरेको छ । १० हजार ४७७ सवारी साधनलाई कारबाही गरेबापत उक्त राजश्व संकलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ७६ लाख ३० हजार राजश्व संकलन गरेको थियो । कुल १० हजार ३०० सवारी साधान कारबाहीमा परेका थिए ।

कार्यालयको तथ्याङ्क अनुसार गत आव मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७ सय ४३ सवारी चालक कारवाहीमा परेका छन् । उनीहरुबाट मात्र ८ लाख २४ हजार राजश्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ । मापसे गरी सवारी चलाउनेमा सबैभन्दा बढी मोटरसाइकल र निजी कार/जीपका चालक रहेको ट्राफिक असई बसन्त पौडेलले बताए । उनका अनुसार गत आव सवारी नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक रहेका छन् ।

‘४ हजार ९१८ मोटरसाइकल/स्कुटर कारवाहीमा परे,’ उनले भने, ‘उनीहरुबाट ४१ लाख ६ हजार राजश्व संकलन भयो ।’ मोटरसाइकलपछि सबैभन्दा धेरै कार/जीप कारबाहीमा परेका छन् । कुल २ हजार ३७१ कार/जीप कारवाहीमा परेको र उनीहरुबाट १८ लाख ९६ हजार ५०० रकम राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस्तै, कार्यालयले १६ सय ३७ ट्रक/टिपर कारबाही गरेबापत १४ लाख ४८ हजार, ८ सय ६४ बसबाट ५ लाख ८५ हजार ५००, ६ सय ६६ ट्याक्टरबाट ५ लाख २६ हजार र अन्यबाट १२ हजार रुपैँया राजश्व संकलन गरेको छ ।
सवारी दुर्घटना घट्यो
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आव २०८०/८१ मा जिल्लामा सवारी दुर्घटना दर पनि घटेको छ । आव २०७९÷८० मा जिल्लाभर २२ वटा सवारी साधन दुर्घटना भएकोमा गत आव २०८०/८१ मा २० वटा सवारी दुर्घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आव २०७९/८० मा सवारी दुर्घटनामा परि १९ जनाको मृत्यु भएको थियो भने गत आव २०८०/८१ मा मृत्यु हुनेको संख्या पाँच मात्र रहेको छ ।

चेकजाँचमा कडाई र सचेतना कार्यक्रममा बृद्धि गरेसँगै दुर्घटना दर घटेको कार्यालयको दावी छ । गत आव ३ हजार ३७१ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको ट्राफिक असई पौडेलले बताए । जसबाट १ लाख ५० हजार जना प्रत्यक्ष लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्