
पर्यटन तथा उद्योग कार्यालयको वित्तीय प्रगति करिव ८५ प्रतिशत
पर्यटन तथा उद्योग कार्यालय गोरखाको गत आर्थिक बर्ष २०८०/८१ को वित्तीय प्रगति ८४.८२ प्रतिशत रहेको छ । चालु तर्फ ५९.२४ र पूँजीगत तर्फ ९६.६९ प्रतिशत वित्तीय प्रगति रहेको कार्यालयले जनाएको छ । गत आव कार्यालयको कुल बजेट ३ करोड ३८ लाख रहेको थियो । जसमध्ये २ करोड ८६ लाख खर्च भएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।
‘चालु तर्फको १ करोड ७२ हजार रकममध्ये ६३ लाख ५३ हजार खर्च भयो,’ उनले भने, ‘पूँजीगत तर्फ २ करोड ३१ लाख थियो, २ करोड २३ लाख खर्च भयो ।’ पर्यटन पूर्वाधारतर्फ रहेका १९ वटै योजना सम्पन्न भएको उनले जानकारी दिए । ‘यसमा दुई वटा योजना थप भएको थियो, त्यसमध्ये एउटा योजना सम्पन्न भयो, अर्काे हुन सकेन,’ भुजेलले भने ।
त्यस्तै गत आव तीन वटा पर्यटकीय पार्क र करिव सात किलोमिटर पदमार्ग निर्माण भएको उनले जानकारी दिए । कार्यालयले गत आव दुई वटा सीप बिकास तालिम संचालन गरेको थियो । जसबाट ४१ जना लाभान्वित भएका थिए । प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत २३ जनालाई व्यवसायका लागि आवश्यक बिभिन्न उपकरणहरु वितरण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाका बिभिन्न ठाउँमा बिद्यालय स्तरको उपभोक्ता सचेतना कार्यक्रम समेत संचालन भएको कार्यालय प्रमुख भुजेलले बताए । गत आव कार्यालयले जिल्लाका सात वटा स्थानीय तहमा उद्योग तथा व्यवसाय दर्ता शिविर पनि संचालन गरेको थियो । गत आव दुई वटा कोसेली घर समेत स्थापना गरिएको कार्यालयले जनाएको छ ।




