| मङ्लबार, कार्तिक २४, २०८३

पालिकाहरुको नीति कार्यक्रममा नारै–नारा

प्रतिक्षा आले मगर ।
गोरखाका पालिकाहरुले आफ्ना नीति तथा कार्यक्रममा नारै नाराको चाङ लाउने गरेका छन् । बिगत बर्षका नाराहरु पूरा हुन नसकेपनि यस बर्षको नीति कार्यक्रममा पुराना र नयाँ नाराका थुप्रो लगाएका छन् । सबैभन्दा धेरै भीमसेन थापा गाउँपालिकाले नीति कार्यक्रममा नारै नारा थुपारेको छ । सो पालिकाले हरेकजसो बुँदामा नारा तुनेर नीति तथा कार्यक्रमलाई साहित्यिक कृति जस्तो बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि सो पालिकाले आफ्नो नीति कार्यक्रममा करिब १९ भन्दा धेरै नारा समेटेर भद्दा बनाएको छ । भिमसेनथापाको मुल नारा ‘ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका, गाउँ टोल र घर घरमा स्थानीय सरकार’ रहेको छ ।

त्यस्तै, ‘स्वास्थ्य, शिक्षा, सीप संस्कार र रोजगार, त्यसका लागि पूर्वाधार’, ‘कृषकको बारीमै कृषि प्राविधिक’, ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’, ‘एक घर एक मौरी घार’, ‘एक वडा एक पशु प्राविधिक’, ‘एक विद्यालय एक बगैचा र करेसाबारी’ र ‘एक वडा एक हेलिप्याड’ नारा पनि रहेको छ ।

त्यस्तै भीमसेनथापा गाउँपालिकाले ल्याएको नीति, कार्यक्रममा ‘प्राविधिक विद्यालय प्रविधिमैत्री शिक्षक–विद्यार्थी–अभिभावक’, ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका’, ‘एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र’, ‘गाउँपालिकाको जोड, बाह्रै महिना रोड’, ‘एक वडा, एक पानी पोखरी’, ‘मुस्कान सहितको सेवा’ लगायतका नारा पनि छन् ।

त्यस्तै सो पालिकाले ‘एक वडा एक उत्पादन पकेट क्षेत्र’, ‘स्थानीय वस्तुको उपभोग गरौँ, र उत्पादनलाई प्रोत्साहन गरौ’, ‘मतदाताको घरदैलोमा जनप्रतिनिधि’, ‘एक नविनतम् अन्वेषण, सहिद स्मृति आविष्कार केन्द्र’ र ‘एक घर दुई रुख तथा एक घर दुई गमला’ भन्ने नाराहरु पालिकाले लिएको छ ।

नीति कार्यक्रममा नाराको लर्कन लगाउन धार्चे गाउँपालिका पनि कम छैन । उसको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पनि नाराको डंगुर छ । धार्चेले आफ्नो नीति तथा कार्यक्रममा १३ वटा नाराहरु समावेश गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘धार्चेको जनताको समृद्धिको आधारः पर्यटनको पूर्वधार’ नारा सहितको नीति अबलम्बन गरिने योजना पालिकाको छ । यसैगरी, ‘सुन्दर, समृद्ध, सुरक्षित धार्चे’, ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’, ‘पूर्ण संस्थागत सुत्केरीयक्त पालिका’ भन्ने नारा घोषणा गरेको छ ।

त्यस्तै ‘भान्सा सुधारः आरोग्यताको आधार’, ‘एक वडा एक खेलकुद मैदान’, ‘बिदेश हैन बिजनेस’, ‘कृषकसँग धार्चेको हातेमालो’, ‘अर्गानिक धार्चे’, ‘मेरो पेशा मेरो आम्दानी’, ‘समुदायमा आधारित लोक कल्याणकारी कोष’, ‘एक वडा एक रणनीतिक सडक’ र ‘जलविद्युतको व्यापार, समृद्धिको आधार’ लगायतका नाराहरु पालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
पालुङटार नगरपालिका पनि नीति तथा कार्यक्रममा साहित्यिक नारा समावेश गर्न पछि परेको छैन् ।

‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो सान’, ‘मध्य पहाडी व्यापारिक पर्यटकीय सहर, सुन्दर, समुन्नत र समृद्ध हाम्रो लिगलिग पालुङटार’, ‘कृषि क्षेत्र बिकासका लागि कृषकको हात, स्थानीय सरकारको साथ’ नारा तय गरेको छ ।

त्यस्तै ‘वर्षैभरि हरियो घाँस’, ‘पालुङटार नगर, पूर्ण पशुपन्छी खोपयुक्त नगर’, ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’, ‘दक्ष शिक्षक गुणस्तरीय शिक्षा, समृद्ध पालुङटार हाम्रो इच्छा’, ‘पालुङटार नगरपालिकाको चाहाना, बालमैत्री शासनको दिगोपना’ र ‘दिगो बिकासको आधार, साझेदारीमा पुर्वधार’ जस्ता नारा सहितको नीति पालिकाले ल्याएको छ ।

गोरखा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा ‘गोरखाः जहाँ इतिहास जीवित छ’, ‘गोरखा नगर समृद्धिको आधार, पर्यटन, कृषि, शिक्षा र पूर्वाधार’, ‘स्वस्थ नगरबासी, स्वच्छ नगरपालिका’ जस्ता नाराहरु समावेश गरेको छ ।

सिरानचोक गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘समृद्धि ऐतिहासिक सिरानचोकको शान, दिगो बिकासको अभियान’, ‘कृषि क्षेत्रको बृद्धि, सिरानचोकको समृद्धि’, ‘हाम्रो इतिहास हाम्रो गौरव, हाम्रो पर्यटन’, ‘एक टोल एक पार्क’, ‘सिरानचोकको मूल आधार, गुणस्तरीय शिक्षा मौलिक अधिकार’, ‘मेरो घर, हाम्रो टोल, तिमी र म, हाम्रो पालिका’, ‘एक वडा एक खेलकुद मैदान’ र ‘हाम्रो कर हाम्रै विकासका लागि’ भन्ने नाराहरु समावेश गरिएका छन् ।

यस्तै अजिरकोट गाउँपालिकाले ‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्धि अजिरकोट’, ‘एक वडा एक व्यवसायिक कृषि उत्पादन’, ‘पालिकाको उत्पादन पालिकामै’, ‘बिकासमा महिला, समृद्धिमा महिला’ र ‘एक वडा एक वडा स्तरीय खेल मैदान’ लगायतका नाराहरु आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सहिद लखन गाउँपालिकाले पनि ‘कृषि, पर्यटन र पूर्वाधारको दिगोपनः समृद्ध, सुसंस्कृत शहिद लखन’ मूल नाराका साथै ‘एक वडा एक महिला सहकारी स्थापना’, ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ र ‘नबस्नु अन्यायमा चुप, बढ्नुपर्छ न्यायिक समितिमा निवेदन दिनलाई मुभ’ जस्ता नाराहरु ल्याएको छ । आर्थिक वर्ष २०८१/८२ भर सोही नारा बमोजिम काम गर्ने लक्ष्य पालिकाको छ ।

गण्डकी गाउँपालिकाले ‘सामाजिक न्याय सहितको दिगो बिकासको चहाना, कषि, उद्योग तथा पर्यटन प्रवद्र्धन गण्डकीको चहाना’ र ‘उत्पादनशील रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका’ नारालाई अबलम्बन गरेर काम गर्ने जनाएको छ ।

भनिन्छ, ‘चिनी धेरै खायो भने तीतो हुन्छ ।’ नाराले नीति तथा कार्यक्रमलाई सुन्दर बनाउँछ, तर त्यही नारा अतिशय धेरै भयो भने अपाच्य हुनेतर्फ सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्