
आगामी आवका लागि जिल्ला दररेट कायम
आगामी आर्थिक बर्ष २०८१/८२ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट कायम गरेको हो । गत बर्षकै मूल्य कायम गर्दै समितिले ईट्टाको दररेट निर्धारण गरेको छ ।
चिम्निको ईट्टा ‘ए’ ग्रेडको प्रति हजार १६ हजार मूल्य निर्धारण गरिएको छ भने चिम्निको ईट्टा तराई ‘ए’ ग्रेडको प्रति हजार गोटाको २० हजार ५ सय मूल्य निर्धारण गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । मेसीन मेड चाइनिज ईट्टाको १६ हजार रुपैया (प्रति हजार गोटा) र चिम्नि भट्टाको लोकल ईट्टाको १५ हजार मूल्य कायम गरिएको उनले जानकारी दिए ।
उनका अनुसार लोकल भट्टाको ईट्टाको मूल्य भने हजार गोटाको ८ हजार ८ सय मूल्य निर्धारण गरिएको छ ।
ढुंगाको हकमा भने बोल्डर बाहेकका अन्यमा मूल्य वृद्धि गरिएको छैन । बोल्डरको भने प्रति घनमिटर २० रुपैया बढेको प्रजिअ दाहालले बताए । ‘गत बर्ष बोल्डर ढुंगाको प्रति घनमिटर १८ सय थियो, अहिले १८ सय २० निर्धारण गरेका छौ,’ उनले भने । ग्राभेलमा पनि मूल्य वृद्धि नभएको उनले जानकारी दिए । ढलाईको लागि खोलाको छानिएको र सडकका लागि ‘रिभर वेड म्याट्रियल’ ग्रावेलको मूल्य प्रति घनमिटर १७ सयका दरले कायम गरिएको छ ।
यसको मूल्य गतबर्ष पनि यही थियो । गिटीको मूल्यमा पनि बृद्धि गरिएको छैन । कुटेको गिटीको आकार अनुसार प्रति घनमिटर २१ सयदेखि २२ सयसम्म मूल्य निर्धारण भएको छ भने क्रसरको गिटीको मूल्य प्रति घनमिटर २ हजार निर्धारण गरिएको छ । चिप्सको मूल्य प्रति घनमिटर २२ सय कायम गरिएको छ । धोएको राम्रो गुणस्तरको वालुवाको मूल्य पनि प्रति घनमिटर २२ सय रुपैया कायम भएको समितिले जनाएको छ । पाइपको मूल्यान भने गत बर्षको तुलनामा केही बृद्धि गरि दररेट निर्धारण गरिएको छ । कामदारहरुको ज्याला यस बर्ष बढाइएको छैन ।
गत बर्षकै मूल्य निर्धारण गरिएको छ । समितिले निर्धारण गरेको ज्याला अनुसार अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर, कूल्सि र लेन्थ वर्करको प्रतिदिन ८७५ पाउनेछन् । वन हेरालु, नर्सरी हेरालु, सर्भे, पोलिङ, केवलिङ, हेल्पर, चेनमेन, वाचमेनको भने प्रति दिन ६ सय ८० रुपैया ज्याला तोकिएको छ । समितिले अर्धदक्ष कामदारको प्रति दिन ९९० र दक्ष कामदारको १२ सय ४० रुपैया ज्याला निर्धारण भएको छ ।
झोलुङ्गे पुलको विण्ड टाई मिलाउने, सस्पेन्सन प्रकारको पुलको सस्पेण्डर राख्ने, मेन केवल तथा सस्पेण्डरमा ग्रीज तथा रंग लगाउने दक्ष कामदारको प्रति दिनको ज्याला १४ सय ५० कायम गरिएको छ । झोलुङ्गे पुल सम्बन्धी निर्माण सामग्रीको हकमा स्थानीय पूर्वाधार बिभाग तथा झोलुङ्गे पुल सहयोग इकाई काठमाडौंको लागि कायम गरिएको दरमा ढुवानी थप गरि दररेट निर्धारण गरिएको बताइएको छ । गोरखा बजार क्षेत्र बाहेक अन्य स्थानमा दुरीको आधारमा ढुवानी भाडा थप गर्न सक्ने समितिले जनाएको छ ।




