
गोरखामा ‘आलु प्रवद्र्धन कार्यक्रम’को १ करोड ४० लाख रुपैयाँ फ्रिज
यो वर्ष कृषि ज्ञानकेन्द्रको आलु प्रवद्र्धन कार्यक्रमका लागि बिनियोजित १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको छ । समयमा बिउ नपाएका कारण ‘समुदाय स्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रम’को योजना र बजेट फ्रिज भएको कृषि ज्ञान केन्द्र गोरखाकी कार्यालय प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।
आर्थिक वर्ष २०८०÷८१ मा ‘फास्ट फुड च्वाइस् कम्पनी’ले गण्डकी प्रदेश कृषि विकास निर्देशनालयसँग आलु उत्पादनका लागि विउ उपलब्ध गराउने सम्झौता गरेको थियो । कम्पनीले गण्डकी प्रदेशको गोरखा सहित ७ जिल्लाहरुबाट लोकप्रिय आलुको परिकार (फ्रेन्च फ्राइज) बनाउन प्रयोग हुने खुमल उपहार, खुमल अज्जवल, डिजिरे र जनकदेव जातका आलुको बिउ उपलब्ध गराउन प्रदेश सरकारसँग सम्झौता गरेको थियो ।
‘सहमति अनुसार आलु उत्पादनका लागि आवश्यक पर्ने बिउँ कम्पनीले उपलब्ध गर्नुपर्ने थियो’, कृषि ज्ञान केन्द्रकी प्रमुख चौधरीले भनिन्, ‘जिल्लामा १ करोड ४० लाखको बजेट पनि आइसकेको थियो तर कम्पनीले आलुको बिउ पठाएन, त्यसैले योजना र बजेट दुवै फ्रिज भएर गयो ।’ केन्द्रले यही वर्ष फ्रेन्च फ्राइज बनाउन योग्य मानिने आलुको बिउ आफैँले उत्पादन गर्न सुरु गरेको उनले बताइन् ।
‘अरुमा आश्रित हुन नपरोस् भनेर हामीले यही वर्ष नै गोरखा नगरपालिका ११ तेह्रकिलो स्थित तारानगर सहकारीसँग आलुको बिउ उत्पादनका लागि समन्वय गरेका छौँ’, उनले भनिन्, ’आलु प्रवद्र्धन कार्यक्रमका लागि आएको १ करोड ४० लाख रकममध्य १ लाख ६३ हजार रकम खर्च गरेर बिउ उत्पादन गरिएको हो ।’ केन्द्रले तारानगर सहकारीलाई बिउ, विषादी र अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको उनले बताइन् ।
तारानगर सहकारीले २५ रोपनी क्षेत्रफलमा आलुको बिउ उत्पादन सुरु गरेको छ । उत्पादनको पहिलो वर्षमै सहकारीले ३१.७ मेक्ट्रिक टन आलुको बिउ उत्पादन गरेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । उत्पादित आलुको बिउ चितवन स्थित कोल्ड स्टोरमामा भण्डारण गरिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिइन् ।




