
चुम्चेतमा प्रहरी चौकी स्थापना
लामो प्रयासपछि उत्तरी गोरखाको चुम्चेतमा प्रहरी चौकी स्थापना गरिएको छ । चुमनुव्री गाउँपालिका वडा नम्वर ६ चुम्लिङस्थित वडा कार्यालयले उपलब्ध गराएको भवनमा चौकी स्थापना गरिएको हो । उक्त चौकीमा प्रहरी हवल्दारको कमाण्डमा पाँच जनाको टोली खटिएका छन् ।
‘चुम्चेत प्रहरी चौकी यसअघि स्वीकृत भएको हो । त्यहाँ धेरै नै पहिले दरवन्दी निकासा भएता पनि भवनलगायतका भौतिक पूर्वाधार र जनशक्ति अभावले चौकी स्थापना हुन सकेको थिएन,’ प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले भने, ‘वडा कार्यालयले भवन उपलब्ध गराएपछि चौकी स्थापना गरेका हौँ ।’ उक्त चौकीले वडा नम्वर ६ भित्र रहेका धेरै गाउँबस्तीको सुरक्षा व्यवस्था गर्ने उनले जानकारी दिए ।
‘त्यो क्षेत्र यसअघि छेकम्पार चौकीले हेर्दै आएको थियो, तर छेकम्पारबाट त्यहाँ आइपुग्न कम्तिमा चारघण्टासम्म लाग्ने हुँदा सेवालाई प्रभावकारी बनाउन सकिएको थिएन’, उनले भने, ‘सिर्दिवास चौकीबाट त्यहाँ पुग्न पनि पाँच, छ घण्टा लाग्ने, र छेकम्पारबाट आउन पनि त्यत्तिकै समय लाग्ने भएकाले समस्या भइरहेको थियो । अबचुम्चेतमा चौकी राखेपछि सहज भयो ।’ अपराध अनुसन्धान र उत्तरी नाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि थप सघाउ पुग्ने अपेक्षा गरिएको बताइएको छ ।




