
विपन्न तथा एकल महिलालाई नगद हस्तान्तरण
गोरखा नगरपालिकाले नगरभित्रका २८ जना विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको ‘उपमेयर सवल नेतृत्व कार्यक्रम’ अन्तरगत १४ वडाबाट प्रति वडा २ जनाका दरले आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका र केही व्यवसाय सुरु गर्न चाहने विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरिएको गोरखा नगरपालिकाको नगरकार्यपालिका सदस्य सावित्रा थापा मगरले बताइन् ।
‘केही गर्छु भन्ने इच्छा भएका विपन्न तथा एकल महिलाहरुलाई १५ हजारका दरले रकम हस्तान्तरण गरेका हौँ’, उनले भनिन्, ‘उक्त रकम बिउ पूँजीका रुपमा हस्तान्तरण गरिएको हो ।’
उनका अनुसार प्रत्येक वडाले आफ्नो क्षेत्रबाट २–२ जना महिलाहरु छनोट गरेर पठाएको हो ।
‘विपन्न भएर मात्र भएन, दिएको रकमको सहि सदुपयोग गर्ने र केही गर्छु भन्ने ईच्छा शक्ति भएका महिलाहरुलाई छनोट गरेर सहयोग गरेका हौ’, उनले भनिन् ।
एकीकरण नेपालको सहजिकरणमा कार्यक्रम भएको हो ।
संस्थाका संयोजक हरि देवकोटाको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसली माया थोकर, नगर कार्यपालिका सदस्य साबित्रा थापा मगर लगायतको उपस्थिति रहेको थियो ।




