
मिल्क करिडोरको ४५ लाख ऋण लिएर लकाङकाली सहकारी थला प¥यो
महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक ६१ औँ प्रतिवेदनमा पालुङ्टार नगरपालिकाको लकाङकाली कृषि सहकारी संस्थाले नगरपालिकासंग लगेको ४५ लाख ६८ हजार रुपैयाँ सहुलियत व्याजदरको ऋण फिर्ता नगरेकाले सो असुल उपर गर्न सुझाव दिएको छ ।
नगरपालिकाको पशुसेवा शाखासंग गरेको सम्झौताअनुसार समयमा साँवा नवुझाएमा रु. ३५ लाख ६८ हजारको २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिवाना वापतको रु. एकलाख ४२ हजार ७२० रुपैयाँ तिर्नुपथ्र्यो । तर सो सहकरीले त्यत्ति पनि तिर्न सकेको छैन । आन्तरिक व्यवस्थापन अस्तव्यस्त भएर थला परेको सो सहकारीले आफैले ऋण लगानी गरेको आठ लाख रुपैयाँ उठाउन त सकेको छैन, नगरपालिकालाई तिर्नुपर्ने त्यत्तिका ऋण तिरोस् पनि कसरी ?
नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा घोषणा गरेको मिल्क करिडोर कोषको रकम लकाङकाली कृषि सहकारी संस्थालाई लगानी गर्ने बिषयमा २०७६ जेठमा दोहोरो सम्झौता भएको थियो । सो रकम ऋण लिएर सहकारीले १० लाख रुपैयाँ भवन निर्माण, चिलिङ भ्याट, डिफ्रिज, प्याकेजिङ उपकरण, पाश्चराइजेशन उपकरण आदि खरिदमा लगानी ग¥यो ।
बाँकी रकम आठ जना किसानलाई गाई खरिद गर्न कर्जास्वरुप प्रदान ग¥यो । ‘एकजना किसानले कम्तीमा तीनदेखि बढिमा १० वटासम्म गाई खरिद गर्ने सर्तमा कर्जा प्रवाह गरेका थियौँ’, सो सहकारी संस्थाका तत्कालीन अध्यक्ष आनन्द श्रेष्ठ भन्छन्, ‘दुईलाखदेखि सात लाखसम्म लगेका थिए । दुई जनाले फिर्ता गरे । अरु कसैले पनि फिर्ता गरेका छैनन् ।’ अहिले ती किसानसंग न गाई छ, न कर्जा फिर्ता गरेका छन् ।
सहकारीले जम्मा १० लाख रुपैयाँ फिर्ता गरेको छ भने ३५ लाख रुपैयाँको छेउटुप्पो छैन । ‘लक्ष्मीप्रसाद पोखरेलले सात लाख लिएकामा ६ लाख ८२ हजार तिर्न बाँकी छ । क्षेत्रप्रसाद कोइरालाले तीनलाख ५० हजार लिएकामा तीनलाख ३७ हजार तिर्न बाँकी छ । त्यस्तै संस्थाका हालका अध्यक्ष रामचन्द्र न्यौपानेले पाँचलाख ५० हजार लिएकामा ५ लाख १२ हजार रुपैयाँ तिर्न बाँकी छ’, पूर्व अध्यक्ष श्रेष्ठ भन्छन्, ‘ तीनलाख ५० हजार ऋण लिएका दुर्गाप्रसाद न्यौपानेले तीनलाख ४६ हजार तिर्न बाँकी रहेको छ ।
तीनलाख ५० हजार लिएका घनश्याम भट्टले एकलाख ९२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । तीनलाख ५० हजार ऋण लिएका महेन्द्रप्रसाद लुइँटेलले पनि दुईलाख ५८ हजार तिर्न बाँकी रहेको छ ।’ राजकुमार प्रधान र केशव न्यौपाने(मिरकोट)ले भने सबै ऋण चुक्ता गरिसकेको उनले बताए । ऋण रकमबाट कम्तीमा तीनवटादेखि बढिमा १० वटासम्म गाई खरिद गर्ने सम्झौता भएको हो । सबैले गाई किनेर व्यवसाय गरे पनि कोभिड महामारीपछि सबै डामाडोल भएको उनको भनाइ छ ।
सहकारीका अध्यक्ष रामचन्द्र न्यौपानेसहित कतिपय किसानहरु व्यवसाय छाडेर रोजगारीका लागि देश विदेश गइसकेका छन् । सहकारीले दुई आर्थिक बर्षदेखि अडिट गराउन छाडेको छ भने बैठक पनि बस्न सकेको छैन । यसअघि सहकारीका ५० जना सदस्यसंग मासिक बचत गरेर जोरजाम गरेको आठलाख रुपैयाँ पनि ऋण लगानी भएको छ । त्यो पनि उठ्न सकेको छैन ।
कोभिड महामारीका कारण डामाडोल बनाएको ऋण लैजाने किसान महेन्द्र लुइँटेलको भनाइ छ । ‘सहकारीले डेरी चलाएको थियो । प्रतिलिटर ४० रुपैयाँका दरले त्यहाँ दूध बेचिन्थ्यो । तर जब कोभिडका कारण लकडाउन भयो, तब सहकारीले डेरी बन्द ग¥यो । घरघरमा एकमाना, दुई माना गरेर बेच्दै पनि हिँडियो, तर यसरी वल्लो घाट न पल्लो तिर भइयो’, उनले भने, ‘दूध बेच्न नसकेपछि गाई पालेर पनि अर्थ भएन । कसैका गाई मरे, कसैले टिका लाएर दान गरे ।
मैले पनि यही चैतमा दान गरेँ ।’ संघर्ष गरेर किस्ता तिरिेरहे पनि केही सीप नलागेपछि छाडेको उनले बताए । सहकारी हरेक हिसाबले असफल भएको संस्थाका अध्यक्ष रामचन्द्र न्यौपाने स्वीकार गर्छन् । ‘पुराना अध्यक्षको अवधि सकियो, नयाँ अध्यक्ष कोही पनि बन्न नमानेर म बसेको हो । म पनि रोजगारीका लागि वीरगञ्जतिर आएको छु’, उनी भन्छन्, ‘जताबाट सोचेपनि सहकारी अस्तव्यस्तै भयो ।’
पालिकासंग भएको संझौता अनुसार १ महिनापछि मासिक रुपमा रु दुईलाख ३९ हजार ८२० का दरले साँवा फिर्ता गर्ने तथा वार्षिक २ प्रतिशले हुने व्याज जोडेर भुक्तानी गर्नुपर्ने उल्लेख छ । समयभित्र नबुझाएमा नियमावलीको नियम १७(८) मा थप २ प्रतिशतका दरले व्याज लिने उल्लेख छ । सम्झौताअनुसार समयमा साँवा नवुझाएको रु. ३५ लाख ६८ हजारको २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिबाना स्थानीय सञ्चित कोष दाखिला गर्नुपर्दथ्यो ।
तर अहिलेसम्म प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको भनाइ छ । ‘बोलाएर पनि ताकेता गरेका छौँ, पत्राचार गरेर पनि ताकेता गरिरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत भण्डारी भन्छन्, ‘तर तिर्ने छाँटकाँट देखिएको छैन ।’ स्वरोजगार कोषको लगानी पनि यस्तै अस्तव्यस्त भएको उनको भनाइ छ ।




