| आइतवार, कार्तिक २२, २०८३

आरुघाट गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल गर्ने

मेलिना बराम : आरुघाट गाउँपालिकाले वडा नं.४ र ५ का विभिन्न भू–भागमा रहेका स्लेट ढुङ्गा खानीको रोक्का रहेको उत्खनन् कार्य फुकुवा गराई स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल नीति तथा कार्यक्रम तय गरेको छ । आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष राजु गुरुङले स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाभित्रका केही सहकारीहरुमा भएका अनियमितताको सत्यता पत्ता लगाई आवश्यक प्रक्रिया अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुढीगण्डकी डुबानका कारण आरुघाट गाउँपालिकाबाट धार्चे–चुमनुब्री जोड्ने मुख्य सडक अलपत्र परेको हुँदा नयाँ ट्रयाकको लागि संघीय सरकार तथा मन्त्रालयमार्फत रेखांकनको लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । विस्थापित आरुघाट बजारको सट्टामा उपयुक्त स्थानमा बजार स्थानान्तरण गर्न पहल गर्ने उनले जानकारी दिए ।

गाउँपालिका वडा नं. १ मा रहेको श्यामचेत पहिरो, वडा नं. ७ को भ्यागुते पहिरो, वडा नं. १० को गैराबारी पहिरो, वडा नं. ३ मा रहेको भलाक पहिरोको, वडा नं. २ को छतिवन, वडा नं. ५ को आर्वाङ र भल्छोपे, वडा नं. ६ को ढाँडस्वाँरा लगायतका पहिरो रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिने उनले बताए ।

गाउँपालिकाभित्रको सिमसार क्षेत्र, पानीको मुहान एवं अन्य जलाधारयुक्त क्षेत्रको संरक्षण गरिने बताएको छ । खोला एवम नदीजन्य पदार्थको उत्खनन र प्रयोग कानुन बमोजिम मात्र गर्न पाइने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकामा जोखिममा रहेका बस्तीहरुको पहिचान गर्दै तिनीहरुको संरक्षण र स्थानान्तरण गर्नमा पहल गरिने बताएको छ ।

गाउँपालिका केन्द्र र वडा जोड्ने सडकलाई मुख्य प्राथमिकता दिई १२ महिना नै संचालन योग्य बनाउनको लागि बजेट बिनियोजन गरिने बताएको छ । अति आवश्यक भएको खण्डमा मात्र नयाँ सडक निर्माण कार्य गरिनेछ । १५ शैयाको आरुघाट आधारभूत अस्पताल संचालनका लागि अनलाईन टिकट काउन्टर सहित थप व्यवस्थापन गरी वडा नं १, २ र ३ लाई लक्षित गरी वडा नं. २ को शितला देबी आ.बि को भवन उपयोग गरी ५ सैय को सामुदायिक अस्पताल संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य उपचार राहत कोषलाई निरन्तरता दिने, गाउँपालिकाबासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्ने लगायतका नीति घोषणा गरिएको छ ।

पढ्दै सिक्दै र सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई उद्यमशीलतातर्फ उन्मुख गर्न प्रेरित गर्ने, गाउँपालिका भित्रका विभिन्न विधाका राष्ट्रिय खेलाडी तथा हिमाल आरोहीहरुलाई प्रोत्साहन र सम्मान गरिने, जेष्ठ नागरिक सचेतना कार्यक्रमको माध्यमबाट जेष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार न्युनिकरणको लागि पहल गरिने नीति कार्यक्रममा उल्लेख छ ।

शान्ति नेपालसंगको सहकार्यमा वडा नं ७ बाट सुरु गरिएको पूर्ण सरसफाई युक्त वडा घोषणा अभियानलाई वडा नं ८ मा शान्ति नेपाल संगकै सहकार्यमा र वडा नं ५, ६, ९ र १० मा गाउँपालिकाको आफ्नै पहलमा सुरुवात गर्ने, वडा नं. ५, ६, ९ र १० मा खानेपानी आपूर्ति हुने आप्रिक, आर्वाङ्ग, आरुचनौटे, खानेपानी आयोजनाको विवाद समाधान गर्ने, आरुघाट बजार क्षेत्र, आर्खेत बजार क्षेत्र र सोती बजारको फोहोर व्यवस्थापनमा आवश्यक पहल गर्ने नीति लिइएको छ ।

गाउँपालिकालाई दूध, मासु र अन्डा उत्पादनको क्षेत्रमा आत्मानिर्भर बनाउन पशुपन्छीको नश्ल सुधार, भकारो एवं गोठ र चरन खर्क सुधार कार्यक्रमलाई विस्तार गर्ने, कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने, वडा नं.५ वयाकमा रहेको औद्योगिकग्राम संञ्चालन तथा व्यवस्थापनका लागि डिपिआर प्रक्रिया अघि बढाइने बताएको छ ।

स्थानीय स्तरमा उत्पादित कोदोको रक्सीलाई ब्रान्डिङ्ग, रैथाने बाली कोदो, मकै, केराको विभिन्न परिकारलाई दिवा खाजामा जोड दिने नीति पालिकाले लिएको छ । गाउँपालिकाभित्र साहासिक पर्यटन, धार्मिक पर्यटन, पर्यटकीय स्थल, प्राकृतिक गुफाको विकासका लागि निजी क्षेत्रलाई लिजमा दिने नीति पनि पालिकाले लिएको छ ।

युवा क्लब तथा महिला समूहमार्फत होमस्टेको विकास, विस्तार तथा दर्ता गरी होमस्टे सञ्चालन गर्न आवश्यक तालिम दिने व्यवस्था मिलाउने गाउँपालिकाले संचालन गर्ने विकास निर्माणको कार्यमा स्थानीयलाई रोजगारी सृजना गर्ने वातावरण बनाउने, पालिकालाई पूर्व स्वीकृति दिएर मात्र गैरसरकारी संस्थाले गतिविधि गर्नुपर्ने व्यवस्था गर्ने, गाउँपालिकाको मुख्य बजार तथा बस्तीक्षेत्र आरुघाट, आरुटार, आर्खेतमा इन्टरनेट सेवा प्रदायक संस्थासंगको समन्वयमा फ्रि वाईफाईको सुरुवात गरिने नीति पालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्