
गोरखा ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा
गोरखालाई ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका सबै स्थानीय तह र वडाहरुसँग समन्वय गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यम प्रसाद शर्माले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिसकेकाले सोही प्रावधान अनुसार जिल्लालाई पनि घोषणा गरिएको उनले बताए ।
जिल्ला खोप समन्वय समिति प्रमुख एवं जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको अध्यक्षता तथा सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव बिनोद बिन्दु शर्माको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रमको अवसरमा खोप ढुवानीका क्रममा सक्रिय भूमिका खेलेका व्यक्तिदेखि कार्यसम्पादनका आधारमा जिल्लाका उत्कृष्ट स्वास्थ्य संस्थाहरु, खोप कार्यकर्ताहरु, स्वास्थ्यकर्मीहरु लगायतलाई सम्मान समेत गरिएको थियो । सरकारले २०७५ देखी प्रत्येक वर्षको माघदेखि चैत महिनासम्म घरधुरी सर्वेक्षण गर्ने, बैशाख महिनालाई खोप महिना मनाउने र पूर्ण खोप घोषणा तथा दिगोपनाको कार्यक्रम गर्दै आइरहेको छ ।
कोभिड १९ को महामारीका कारण पूर्णता पाउन नसकेको कार्यक्रम जिल्लामा भने तगवर्षदेखि संचालन भएको थियो । गत वर्षको असार २० गते जिल्लालाई पहिलो पटक पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको थियो । कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्षपनि बैशाख महिना भरिमा जिल्लाका ९४ वटै वडाका स्वास्थ्यकर्मीहरुले आ–आफ्नो वडाका १६ देखि ५९ महिना सम्मबा बालबालिकाहरुले १५ महिना भित्र लगाइसक्नुपर्ने खोप लगाए वा नलगाएको र १५ महिना भित्रका बालबालिकाहरुले नियमित रुपमा खोप सेवा लिईरहेका छन् वा छैनन् भनेर घरदैलो मार्फत तथ्याङ्क संकलन गरेको थियो ।
सर्वेक्षणका क्रममा जिल्लाभर ०–१५ महिनासम्मा कुल बालबालिकाहरुको सङ्ख्या ३ हजार ३ सय २७ र १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुको सङ्ख्या १० हजार २ सय ५५ रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सर्वेक्षणको क्रममा ४ जना शून्य डोजको बालबालिका भेटिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गण्डकी गाउँपालिकाको २ र सहिदलखन गाउँपालिकाको २ जना शून्य डोजका बालबालिका भेटिएको बताइएको छ ।
यसैगरी जिल्लाभर आंशिक खोप छुट बालबालिका सङ्ख्या २२ रहेको बताइएको छ । गोरखा नगरपालिकाको ३, आरुघाट गाउँपालिकाको ४, भिमसेनथापाको २, सहिदलखनको ३, बारपाकसुलिकोटका ५ र चुमनुब्री गाउँपालिकाका ५ जना बालबालिकाहरु आंशिक खोप लगाउन छुटेको कार्यालयले उल्लेख गरेको छ । उक्त बालबालिकाहरुको पहिचान गरि बैशाख र जेठ महिनाको नियमित खोपमा खोप पुरा गरिएको बताइएको छ ।
जिल्लाका सबै स्थानीय तहहरुमा गत फागुन १५ देखि बैशाख ३१ सम्म सवै वडाका स्वास्थ्यकर्मीहरुले घरधुरी सर्वेक्षण गरेका थिए । वडाखोप समन्वय समितिको वैठकको निर्णयानुसार जिल्लाभरका सबै वडाहरुमा मापदण्डमा पर्ने बालबालिकाहरुले नियमित रुपमा खोप सेवा लिईरहेको भन्ने सुनिश्चित भएपछि जेठ ५ देखि १५ सम्मवडा तथा पालिकाहरुलाई पूर्णखोप सुनिश्चित गर्न पत्रचार गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जेठ १७ देखि भने जिल्ला खोप समन्वय समितिको टोलि सवै पालिकाहरुमा पुगि डाटा भेरीफीकेशनको काम भएको कार्यालयको भनाई छ ।
यही असार ६ गतेसम्ममा सवै पालिकाहरुमा पूर्ण खोप सुनिश्चिता कार्यक्रम सम्पन्न गरेर त्यसको विवरण प्रदेशमा पठाएको बताइएको छ । प्रदेश खोप समन्वय समितिले आइतबार जिल्लालाई पूर्ण खोप घोषणाका लागि अनुमति दिएसँगै गोरखा ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




