
बेरुजुको अङ्क घट्दै, फजुल खर्च गर्ने परिपाटी यथावत !
प्रतीक्षा आलेमगर ।
जिल्लाका स्थानीय तहहरुको बेरुजु वर्षेनी घट्दो क्रममा छ तर, वेथिति भने कायमै छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को(६१ औ) प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहहरुको कुल बेरुजु १३ करोड ४९ लाख ४२ हजार रहेको छ । यो रकम अघिल्ला वर्षहरुको भन्दा कम हो तर, पालिकाहरुको अनियमित रुपमा खर्च गर्ने परिपाटीमा भने खासै सुधार देखिएको छैन ।
तीनबर्षअघि आर्थिकवर्ष २०७७/७८ मा ३० करोड ४९ लाख २५ हजार बेरुजु रहेको जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका स्थानीय तहहरुको कुल बेरुजु १९ करोड ५८ लाख ३० हजार रहेको थियो । आर्थिक बर्ष २०७९/०८० मा १३ करोड ४९ लाख ४२ हजार रहेको छ ।
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ मा ३ करोड २१ लाख ६४ हजार रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ४ करोड ३३ लाख ९ हजार रहेको थियो भने आर्थिक वर्ष २०७९/८० को बेरुजु ३ करोड ३६ लाख ५३ हजार रहेको छ । यसरी पालिकाको बेरुजु क्रमश घट्दो क्रममा छ ।
बेरुजु धेरै हुने पालिकाहरुमध्य गोरखा नगरपालिकापछि पालुङटार नगरपालिका दोस्रो नम्बरमा छ । आर्थिक वर्ष २०७७/७८ मा पालुङटारको बेरुजु ५ करोड ७ लाख २६ हजार रहेको थियो । त्यसको पछिल्लो बर्ष २०७८/७९ मा पानपाको बेरुजु २ करोड ४९ लाख ५९ हजार रहेको थियो भने आर्थिक वर्ष २०७९/८० को बेरुजु २ करोड २९ लाख ४ हजार रहेको छ ।
यता सहिदलखन गाउँपालिकाको बेरुजुमा भने क्रमिक सुधार देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा पालिकाको बेरुजु १ करोड २० लाख २९ हजार रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा १ करोड ७ लाख रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा त्यसबाट घटेर ३७ लाख ८१ हजार भएको छ । आरुघाटको बेरुजुमा खासै सुधार देखिएको छैन् । पालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु १ करोड ४५ लाख रहेको छ ।
यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पालिकाको बेरुजु १ करोड १३ लाख ८३ हजार रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा पालिकाको बेरुजु १ करोड ५३ लाख ८१ हजार रहेको थियो । गण्डकी गाउँपालिकाको पनि बेरुजु घट्दो क्रममा छ । आर्थिक वर्ष २०७७/७८ मा २ करोड ७४ लाख १५ हजार रहेको सो पालिकाको नाउँमा आर्थिक वर्ष २०७८/७९ मा त्यसमा घटेर बेरुजु १ करोड ७३ लाख भयो भने २०७९/८० मा १ करोड ४४ लाख ७९ हजार बेरुजु रहेको छ ।
यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा २ करोड १७ लाख ५३ हजार रहेको भिमसेनथापा गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०७८/७९ मा १ करोड ६२ लाख ४३ हजार र २०७९/८० मा बेरुजु १ करोड ६९ लाख ६७ हजार रहेको छ । सिरानचोक गाउँपालिकाकोे बेरुजुमा बिगत तीनबर्षमा निकै सुधार आएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ करोड ३७ लाख ९७ हजार रहेको सो पालिकाको बेरुजु २०७८/७९ मा २ करोड १२ लाख २१ र यो वर्षको बेरुजु ५६ लाख ८० हजार रहेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ मा बेरुजु अत्यन्तै धेरै ६ करोड ५९ लाख ७९ हजार रहेको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा पालिकाको बेरुजु २ करोड ११ लाख रहेको थियो भने आर्थिक वर्ष २०७९/८० को बेरुजु रकम घटेर १ करोड २७ लाख रुपैँया रहेको छ ।
यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख ९ हजार बेरुजु रहेको अजिरकोट गाउँपालिकाले पनि बेरुजु घटाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/७९ को बेरुजु ८३ लाख ५४ हजार र आर्थिकवर्ष २०७९/०८० को बेरुजु ५६ लाख ९२ हजार रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा २ करोड ६२ लाख बेरुजु रहेको धार्चे गाउँपालिकाको पनि बेरुजुमा क्रमिक सुधार देखिएको छ ।
उसको बेरुजु आर्थिक वर्ष २०७८/७९ मा १ करोड ५ लाख र आर्थिक वर्ष २०७९/८० को बेरुजु ७९ लाख ८३ हजार रहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बेरुजुमा निकै सुधार ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ मा २ करोड ७ लाख बेरुजु देखिएको चुमनुब्रीको बेरुजु आर्थिक वर्ष २०७९/८० मा आईपुग्दा ३६ लाख २४ हजार देखिएको छ । यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा पालिाकको नाउँमा १ करोड ६ लाख बेरुजु देखिएको छ ।




