
चुमनुब्रीको बेरुजु : अनियमित भुक्तानी भएको सातलाख लेखा परीक्षण गर्दागर्दै असुल उपर
प्रतिक्षा आले मगर ।
पालिकाबाट विभिन्न शीर्षकमा अनियमित रुपमा भुक्तानी भएको ७ लाख ६० हजार रुपैयाँ लेखापरीक्षणका क्रममा असुल उपर भएको छ । पालिकाले नियम विपरीत भ्रमण भत्ता बापत भुक्तानी गरेको २ लाख १२ हजार रकम महालेखाले औल्याएपछि असुल उपर भएको छ । यस्तै, कर्मचारी भ्रमण अवधीको दुर्गम भत्ता बापतको ९९ हजार, शिक्षकलाई बढी भुक्तानी दिएको ४२ हजार, शिक्षकलाई बढी पारिश्रमिक निकासा गरेको १ लाख, प्रविधि हस्तान्तरण लागत साझेदारी कार्यक्रम अन्तरगत अनियमित भएको ८३ हजार, कृषिमा ढुवानी बापत बढी भुक्तानी भएको २० हजार र विद्यालयलाई बढी निकासी गरेको १ लाख ९४ हजार रकम महालेखाकोले असुली गरेको छ ।
अवण्डामा बजेट
पालिकाले कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर ठूलो राशी अबण्डामा नराख्न महालेखाले आलोचनात्मक सुझाव दिएको छ । पालिकाले पूँजीगत शीर्षकमा १ करोड १९ लाख र चालु खर्चमा १ करोड ७८ लाख रुपैँया अवण्डामा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसले गर्दा वित्तीय अनुशासन र पारदर्शिता कायम नभएको महालेखाको आरोप छ ।
धेरै टुक्रे योजनामा बजेट
पालिकाले एक लाख भन्दा कम खर्चको साना तथा टुक्रे योजनाहरुमा ८९ लाख ७० हजार खर्च गरेको छ । साना टुक्रे योजनामा वजेट विनियोजन गर्दा दिर्घकालिन उपलब्धी नहुँने तथा यस्ता कार्यमा नियन्त्रण गरी ठुला योजना छनौटलाई प्राथमिकतामा राख्न महालेखाले निर्देशन दिएको छ ।
शून्य प्रगति
पालिकाका धेरै योजनाहरुको प्रगति शून्य रहेको उल्लेख छ । आव २०७९÷८० मा पालिकाको १६ योजनाहरुमा शून्य प्रगति रहेको महालेखाको विवरणमा उल्लेख छ । १ करोड ८९ लाख ४५ हजार बराबरको उक्त योजनाहरुको प्रगति शून्य रहेको महालेखाले जनाएको छ । पुरा गर्न सक्ने योजनाहरु छनोट गरी कार्यान्वयनमा लैजान महालेखाले सुझाएको छ ।
समितिले प्रभावकारी रुपमा काम नगर्दा कार्यक्रम संशोधन
पालिकाले गाउँसभाबाट विभिन्न १८ खर्च शीर्षकबाट ४ करोड ३१ लाख ७० हजार रकम घटाएर ६६ योजनामा वढाई कार्यक्रम संशोधनमार्फत विभिन्न योजना तथा शिर्षकमा रकमान्तर गरेको उल्लेख छ । असारमा बजेट तथा कार्यक्रम बनाउँदा पर्याप्त गृहकार्य नगर्दा तथा तोकिएका समितिले प्रभावकारी रुपमा काम नगर्दा पटक पटक कार्यक्रम संशोधन भएको देखिएको महालेखको बुझाइ छ । नियममा भएको व्यवस्था पालना नभएको बताउँदै महालेखाले सुधार गर्न निर्देशन दिएको छ ।
असारमा अधिक खर्च
चुमनुब्रीले असार महिनामा मात्र ५ करोड ६६ लाख ८९ हजार खर्च गरेको उल्लेख छ । यो पूँजीगत खर्चको ५७.६ प्रतिशत हो । पालिकाले यो वर्ष पूँजीगत खर्च ९ करोड ८४ लाख ९७ हजारमध्य तेस्रो चौमासिकमा आएर मात्र ८ करोड ६९ लाख २५ हजार (८८.३ प्रतिशत) खर्च गरेको छ । समयमै निर्माण कार्य गराई खर्च गर्न महालेखाले निर्देशन दिएको छ ।
गैरसरकारी संस्थालाई दिएको अनुदान बेरुजु
पालिकाले गैरसरकारी संस्थालाई अनुदान बापत भुक्तानी गरेको ६ लाख १९ हजार रकममा बेरुजु देखिएको छ । पालिकाले तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदलाई ल्होसार खर्च बापत भुक्तानी गरेको ५ लाख रुपैँयामा बेरुजु देखिएको हो । त्यसैगरी, लायन्स क्लव अफ गोरखाको नाउँमा भुक्तानी गरेको २० हजार र गोरखा जेसिसको एरिया ख सम्मेलन खर्च बापत भुक्तानी गरेको ९९ हजारमा बेरुजु देखिएको हो ।
भ्रमण खर्च अत्याधिक
पालिकाले यो वर्ष ४१ लाख २५ हजार रुपैँया अनुगमन तथा भ्रमण खर्च बापत भुक्तानी गरेको उल्लेख छ । भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, अभिलेख भ्रमण, दुरीको विवरण, सवारी साधनको टिकट आदि नराखी उक्त रकम भुक्तानी गरेको महालेखाको विवरणमा उल्लेख छ । अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहको भन्दै महालेखाले यसमा सुधार गर्नुपर्ने निर्देशन दिएको छ ।
यसैगरी, पालिका कार्यालयको २८ जना पदाधिकारी र कर्मचारीको भ्रमण खर्चमा बापत ९ लाख रुपैँयामा समेत बेरुजु देखिएको छ । भ्रमणको उद्देश्य तथा उद्देश्य प्राप्तिको मूल्याङकन नगरी खर्च देखाएको बताउँदै यस्तो परिपाटीमा सुधार ल्याउन महालेखाले निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सो पालिकाको बेरुजु ३४ लाख २ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले चुमनुब्रीले २७ लाख ७८ हजारको प्रतिक्रिया पठाएको जनाएको छ । जसमा २ लाख ३ हजार असुल गर्नुपर्ने र ३४ लाख २० हजारको प्रमाण कागजात पेश गर्न भनिएको छ । पालिकाको नाउँमा गतवर्षसम्म ३ करोड ९७ लाख ४ हजार बेरुजु बाँकी रहेको थियो त्यसमा बढेर पािलकाको कुल बेरुजु ४ करोड ३३ लाख २७ हजार पुगेकोे छ ।




