| सोमवार, अशोज ११, २०८३

गोरखाका १५० विद्यालयका बाह्र हजार बालिकाहरुसंग काम गर्दै रुम टु रिड

गोरखामा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको साक्षरता कार्यक्रम र बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा रुम टु रिडको शिक्षण सिकाई प्रणाली निकै प्रभावकारी बन्दै गएको जनाएको छ ।

बिहीबार भएको वार्षिक समीक्षा कार्यक्रममा साक्षरता कार्यक्रम अन्तरगत मुख्य १ देखि ३ कक्षामा कक्षाकोठा व्यवस्थापन, शिक्षकहरुको लागि तालिम तथा प्राविधिक सहयोग, पुस्तकालय व्यवस्थापन लगायतको कामहरु हुँदै आएको रुम टु रिडका बरिष्ठ फिल्ड व्यवस्थापक शुशिल तिम्सिनाले बताए । हाल साक्षरता कार्यक्रमले जिल्ला भित्रका १५० विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मको झण्डै दश हजार ५०८ बाल बालिकामा काम गरिरहेको उनले जानकारी गराए ।

त्यसैगरि रुम टु रिड अन्तरगत पढ्नको लागि संचालन गरेका कोठामा बालिका शिक्षा कार्यक्रम अन्तरगत १९ विद्यालको करिव एक हजार ९५ बालिकाहरुसंग काम गरिरहेको जानकारी बरिष्ठ फिल्ड व्यवस्थापक तिम्सिनाले बताए । कार्यक्रममा एकिकरण नेपाल मार्फत संचालन भएको साक्षरता कार्यक्रम अन्तरगत एक विद्यालयमा नमुना प्रदर्शनी, ४५ विद्यालयमा लागत साझेदारी र ५ विद्यालयमा प्राविधिक सहयोग गरि १५० विद्यालयमा कार्यक्रम संचालन भईरहेको वार्षिक समिक्षा कार्यक्रमा जानकारी गराएको थियो ।

जिल्लाको आठ पालिकामा रुुम टु रिडद्धारा शिक्षा क्षेत्रमा काम हुँदै आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट, भिमसेन थापा, सहिद लखन, अजिरकोट, सिरानचोक र गण्डकी गाउँपालिकामा यसको कार्य क्षेत्र हो ।
जिल्ला समन्वय समितिको प्रमुख मोहन वहादुर थापा मगरको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समितिको अन्य पदाधिकारीहरु, शिक्षा विकास तथा समन्वय इकाईको अधिकृत दिपक सिर्मल, गैससको अध्यक्ष सीताराम श्रेष्ठ, जिल्लाको अन्य कार्यालय, पत्रकार गरि २० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापाले कार्यक्रम धेरै प्रभावकारी रहेको बताउँदै यसलाई दीगो बनाउन स्थानीय सरकारले जोड दिनु पर्ने बताए । उपप्रमुख परियारले बालिका शिक्षाले किशोरीहरुको शसक्तिकरण र निर्णय क्षमतामा महत्वपुर्ण भुमिका खेलेको बताइन् ।

गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठले गोरखाको शैक्षिक विकास र पठन पाठनमा रुम टु रिड र एकिकरण नेपाल गोरखाको सहयोग उल्लेखनीय रहेको बताए । कार्यक्रमले गोरखा जिल्लालाई साक्षर वनाउन ठुलो मदत गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्