| आइतवार, कार्तिक २२, २०८३

अजिरकोट गाउँपालिकाको बेरुजु ६३ लाख १२ हजार,अबण्डामा अधिक बजेट

प्रतीक्षा आले मगर ।
अजिरकोट गाउँपालिकाको आर्थिकवर्ष २०७९/८० को बेरुजु ६३ लाख १२ हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार बारपाक सुलिकोटले ६ लाख २० हजारको प्रतिक्रिया पठाएको छ । जसमा ३ लाख ५ हजार असुल गर्नुपर्ने र १५ लाख १२ हजार नियमित गर्नुपर्ने देखिएको छ । यस्तै, ३८ लाख ७४ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने उल्लेख छ ।

अजिरकोटको नाउँमा गतवर्ष ७करोड ४७ लाख ३९ हजार बेरुजू बाँकी रहेकोमा त्यसमा बढेर पालिकाको कुल बेरुजु ८ करोड ४ लाख ३१हजार पुगेको छ । अजिरकोटले आर्थिक वर्ष २०७९/८० मा आन्तरिक आयबाट ४७ लाख ३० हजार, राजस्व बाँडफाँड र अनुदानबाट ३६ करोड २४ हजार र बैँक मौज्दात १३ कारोड ६५ लाख गरी जम्मा ५० करोड १३ लाख १९ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।

जसमध्य चालुतर्फ २८ करोड ३ लाख ६१ हजार(६५.३२ प्रतिशत) र पुँजीगत (विकास निर्माण) तर्फ१४ करोड ८८ लाख ५७ हजार(३४.६८) खर्च भएको महालेखाको विवरणमा उल्लेख छ । पदाधिकारी सुविधामा मात्र ७२ लाख ३८ हजार खर्च पालिकाले गरेको महालेखाले जनाएको छ । प्रशासनिक कार्यमा बढि र विकास निर्माणमा न्युन खर्च गरेको महालेखाले जनाएको छ । अनुदान र राजस्व बाँडफाँडको रकम बिकास निर्माणमा खर्च गर्न महालेखाले निर्देशन दिएको छ ।
बर्षान्तमा अत्याधिक खर्च
पालिकाले पहिलो र दोस्रोको तुलनामा तेस्रो चौमासिकमा अत्याधिक खर्च गरेको महालेखाले टिप्पणी गरेको छ । प्रथम चौमासिकमा १.२३ प्रतिशत र दोस्रो चौमासिकमा २१.९ प्रतिशत खर्च गरेको पालिकाले तेस्रो चौमासिकमा ७६.८७ प्रतिशत खर्च गरेको उल्लेख छ । तेस्रो चौमासिकको पनि असार महिनामा मात्र चार करोड ७८ लाख ६४ हजार (३२.१५ प्रतिशत) खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ । यसरीवर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने हुँदा नियममा भएको व्यवस्था अनुरुप असारमा खर्च गर्ने परिपाटी नियन्त्रण गर्न निर्देशन दिएको छ ।
अबण्डामा अधिक बजेट
पालिकाले कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर ठूलो राशी अबण्डामा राखेकोलाई पनि महालेखाले आलोचनात्मक सुझाव दिएको छ ।पालिकाले एक करोड ५० लाख रुपैँया अवण्डामा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले अबण्डा बजेट अन्तरगत बिकास साझेदारीको लागि ५० लाख, सार्वजनिक निर्माणका लागि ५० लाख र पूँजीगत मर्मतका लागि ५० लाख भनेर खर्च गरेको महालेखाले जनाएको छ । जसले गर्दा वित्तीय अनुशासन र पारदर्शिता कायम नभएको महालेखाको आरोप छ ।

विपत व्यवस्थापन समितिसंग समन्वय नगरी राहत वितरण
पालिकाले राहत स्वरुप वितरण गरेको १ लाख ७२ हजार रकममा बेरुजु देखिएको छ । यो वर्ष पालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट विभिन्न प्रकारका विपद सामना गरेका व्यक्तिहरुलाई रकम वितरण गरेको छ । तर, पालिकाले विपद् व्यवस्थापन समितिको निर्णय समावेश नगराई कार्यपालिकाको निर्णयमा टेकेर सहायता वितरण गरेको उल्लेख छ ।

टुक्रे योजनामा बजेट बिनियोजन
अजिरकोटले साना तथा टुक्रे योजनाहरुमा बढी मात्रामा बजेट खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ । आव २०७९÷८० मा पालिका भित्र १ सय ६४ वटा साना तथा टुक्रे योजनाहरु संचालन भएका छन् । जसले गर्दा सञ्चालित योजनाबाट दीर्घकालिन प्रतिफल प्राप्त नहुनुका साथै चालु प्रकृतिका खर्चमा वृद्धिभै लागत प्रभावित नहुने साथै निर्माण कार्यको गुणस्तरमा समेत प्रश्न उठ्ने महालेखाले जनाएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली लागु नगरेको
पालिकाले आन्तरिक नियन्त्रण प्रणाली लागु नगरेको उल्लेख छ । जसले गर्दा पालिकाको नियन्त्रण प्रणाली कमजोर रहेको र सोमाथि विश्वस्त हुन सक्ने अवस्था नरहेको महालेखाले जनाएको छ । पालिका आफ्नो क्षेत्रभित्रको आधारभुत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन नगरेको, वडा कार्यालयमा रहेका जिन्सी समानको अभिलेख पालिकाको मूल जिन्सी खातामा अध्यावधिक नगराएको, विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नुपर्नेमा नगराएको, रकम भुक्तानी दिँदा रित पुगे वा नपुगेको जाँच नगरेको, वातावरण संरक्षणको एकिकृत दिर्घकालिन योजना तयार नगरेको लगायतका प्रणालीहरु लागु नभएको महालेखाको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्