| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलिकोटको बेरुजु १ करोड २७ लाख, नियम बिपरित सवारी साधन खरिद, साइट अफिसमा अधिक खर्च

प्रतीक्षा आले मगर ।
बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु १ करोड २७ लाख २८ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार बारपाक सुलिकोटले २३ लाख ५० हजारको प्रतिक्रिया पठाएको छ । जसमा ५८ लाख ६१ हजार असुल गर्नुपर्ने देखिएको छ । यस्तै, ४६ लाख १५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने उल्लेख छ । पालिकाको नाउँमा गतपर्ष ९करोड ८९ लाख ६२ हजार बेरुजू बाँकी रहेकोमा त्यसमा बढेर पालिकाको कुल बेरुजु १० करोड ९४ लाख ३८ हजार पुगेको छ ।
बिकास निर्माणमा कम खर्च :
बारपाक सुलिकोटले आर्थिक वर्ष २०७९/८० मा आन्तरिक आयबाट ८८ लाख ५९ हजार २ सय ६२ र राजस्व बाँडफाँड र अनुदानबाट ५१ करोड १ लाख ३ हजार गरी जम्मा ५१ करोड ८९ लाख ६२ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । जसमध्य चालुतर्फ ७०.१२ (४१ करोड ८६ लाख ६५ हजार) र पुँजीगत (बिकास निर्माण) तर्फ जम्मा २९.८८ प्रतिशत (१७ करोड ८४ लाख १२ हजार) मात्र खर्च भएको महालेखाको विवरणमा उल्लेख छ । पालिकाले प्रशासनिक कार्यमा बढि र विकास निर्माणमा न्युन खर्च गरेको महालेखाले जनाएको छ । अनुदान र राजस्व बाँडफाँडको रकम बिकास निर्माणमा खर्च गर्न महालेखाले निर्देशन दिएको छ ।
आन्तरिक आयको हिस्सा न्युन :
पालिकाको आन्तरिक आयको हिस्सा न्युन रहेको उल्लेख छ । केन्द्रीय अनुदानबाट भएको खर्चको तुलनामा आन्तरिक आयको हिस्सा २.६७ प्रतिशत मात्र रहेको महालेखाले जनाएको छ । पालिकाको आन्तरिक आयको दायरालाई फराकिलो पर्दै आन्तरिक आय बृद्धि गर्नुपर्ने महालेखाको भनाइ छ ।
नियम बिपरीत सवारी साधन खरिद :
पालिकाले नियम बिपरित सवारी साधन खरिद गरेको ६८ लाख १३ हजार रकममा बेरुजु देखिएको छ । स्थानीय तहहरुले आफ्नो आन्तरिक आम्दानीबाट मात्र सवारी साधान खरिद गर्न पाउने र नेपाल सरकारबाट गराइएको बजेट तथा स्रोत साधनवाट कार्यालयको प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाईने प्रावधान छ । पालिकाले सो प्रावधानविपरीत तीन थान मोटरसाइकल खरिदमा ९ लाख ९९ हजार र एक थान टिप्पर खरिदमा ५९ लाख ५५ हजार खर्च गरेको उल्लेख छ ।
अन्धाधुन्ध साइट अफिस खर्च :
पालिकाले १५ शैया अस्पताल निर्माणका क्रममा प्रजेक्ट म्यानेजर लगायत टेक्निकल कर्मचारीका लागि यातायात लगायत सुविधाका लागि भुक्तानी गरेको २५ लाखमा बेरुजु देखिएको छ । निर्माण कार्यको बिल अफ क्वान्टिटिमा, साईट अफिस भाडाजस्ता निर्माण कार्यसँग असम्बन्धित खर्च समावेश नगर्न र लागत वृद्धि नियन्त्रण गर्न नीति बनाउने प्रावधान छ । पालिकाले अस्पताल निर्माणको बिल अफ क्वान्टिटीमा यातायात खर्च लगायतका आइटम राखी भुक्तानी दिएको महालेखाको विवरणमा उल्लेख छ ।
समितिको काम ठेकेदारलाई :
उपभोक्ता समितिले पाएको काम आफैले सम्पन्न गर्नुपर्ने र निर्माण व्यवसायी वा सब–कन्ट्रयाक्टरबाट काम गराउन नपाइने प्रावधान छ । तर, यस पालिकाका अधिकांश समितिहरुले निर्माण व्यवसायीबाट मेशिनरी प्रयोगको मार्फत योजना सम्पन्न गरेको उल्लेख छ । पालिकाको कतिपय स्थानहरुमा नक्सा पास बिना नै भवन निर्माण भईरहेको उल्लेख छ ।

आव २०७९/८० मा पालिकाले नक्सा पास बापत कुनै आय नगरेको तर, पालिकाकै योगदानमा विभिन्न स्थानहरुमा सामाजिक संस्थाको नाममा भवन निर्माण कार्य भईरहेको महालेखाले जनाएको छ । १० करोडभन्दा बढी खरिद कार्य गर्दा गुरुयोजना निर्माण गर्नुपर्ने र १० लाखभन्दा बढीको खरिद गर्दा वार्षिक खरिद योजना बनाउनुपर्ने प्रावधान छ । तर पालिकाले खरिद गुरुयोजना बिनै १७ करोड ८४ लाखको खरिद कार्य गरेको महालेखाको विवरणमा उल्लेख छ ।

पालिकाको रकमवाट सहायता, चन्दा, पुरस्कार एवं संस्थागत वितरण गर्न पाउने व्यवस्था नरहेको महालेखाले जनाएको छ । पालिकाले गरेको आर्थिक सहायता बापतको ७ लाख ८ हजार रकममा बेरुजु देखिएको छ । पालिकाले आव २०७९÷८० मा ३८ जनालाई ५ हजारदेखि ५ लाखसम्मको आर्थिक सहायता गरेको महालेखाको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्