
भीमसेनथापाको बेरुजु ३ करोड २२ लाख, भ्रमण, खाना, खाजा र गाडी भाडामा अधिक खर्च !
भीमसेनथापा गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु ३ करोड २२ लाख ८८ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार भिमसेनथापाले १ करोड ६१ लाख २६ हजारको प्रतिक्रिया पठाएको छ । जसमा ३ लाख १२ हजार असुल गर्नुपर्ने र १ करोड ३९ लाख ४६ हजारको प्रमाण कागजात पेश गर्न भनिएको छ । यस्तै, १७ लाख ४० हजार पेश्की बाँकी रहेको र २ लाख रुपैँया नियमित गर्नुपर्ने सुझाव दिएको छ ।
पालिकाको नाउँमा गतवर्ष ७ करोड १० लाख ७३ हजार बेरुजु बाँकी रहेको थियो त्यसमा बढेर पािलकाको कुल बेरुजु ८ करोड ७२ लाख ३९ हजार रहेको छ ।
पालिकाको आर्थिक कार्यप्रणाली लेखाङ्कन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)बाट तयार भएको वित्तिय विवरण समेत पुरा नभएको महालेखाले औँल्याएको छ । जसका कारण यथार्थ आर्थिक अवस्थाको चित्रण गर्न नसकिएको महालेखाले जनाएको छ । सबै आर्थिक कारोबार सुत्र मार्फत गर्न र सबै कारोबार वित्तिय विवरणमा समावेश गर्न महालेखाले निर्देशन दिएको छ ।
पालिका सहुलियतपूर्ण कर्जा न्यूनीकरण कोष स्थापनामा असफल भएको महालेखाले उल्लेख गरेको छ । पालिकाले राष्ट्रिय वाणिज्य बैँकसँग सम्झौता गरी विविध शीर्षक अन्तर्गत सहुलियतपूर्ण कर्जा न्यूनीकरण कोष स्थापना गर्ने भनेकोमा कोषको स्थापना हुन नसकेको महालेखाको विवरणमा उल्लेख छ । साथै, पालिकाले बैँकसँग भएको समझदारी अनुसार कृषकलाई ऋण उपलब्ध गराउन नसकेको महालेखाले जनाएको छ । कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई सेवासुविधा साथै सहुलियतपूर्ण ऋण उपलब्ध हुँदा निर्णय अनुसारको कामलाई अगाडि बढाउन निर्देशन दिएको छ ।
प्रिन्टर खरिदमा बेरुजु :
पालिकाले नियम बिपरित जिल्ला प्रशासन कार्यालयका लागि खरिद गरेको २ थान प्रिन्टरको ८३ हजार रकममा बेरुजु देखिएको छ । पालिकालाई अन्य कार्यालयको खर्च बेहोर्ने परिपाटी अन्त्य गर्न निर्देशन दिएको छ ।
सफ्टवेयर खरिदमा अनियमितता :
पालिकाले आधिकारीक हस्ताक्षर समेत नभएको सफ्टवेयर खरिद गरे बापतको २ लाख रुपैँयामा बेरुजु देखिएको छ । सूचना प्रविधि विभागबाट स्वीकृत नगराई अब्रिक टेक्नोलोजी प्रालिसँग पालिकाले खरिदगरेको न्यायिक समिति मुद्धा व्यवस्थापन सम्बन्धी सफ्टवेयरमा बेरुजु देखिएको हो । यस्तै, भीमसेनथापाले बिना विवरण परामर्शदाता छनौट गरेको २ लाख ९७ हजारमा पनि बेरुजु देखिएको छ । परामर्शदाता छनोट गर्दा प्रस्ताव र फर्मको विवरण उल्लेख गर्नुपर्नेमा पालिकाले खरिद कार्य बमोजिम प्रतिस्पर्धा सुनिश्चित नगरेको महालेखाले जनाएको छ ।
उपभोक्ता समितिको काममा मेसिनको प्रयोग :
पालिकाले उपभोक्ता समितिको काममा मेसिनको प्रयोग गरिएको महालेखाको विवरणमा उल्लेख छ । नियम अनुसार मेशिन औजारको लागत भार बीस प्रतिशत बढी भएको निर्माण कार्य लाभग्राही समुदायबाट गराउन नपाइने व्यवस्था छ । पालिकाले ४ वटा योजनामा लागत भार बीस प्रतिशतभन्दा निकै बढी भएको निर्माण कार्यपनि उपभोक्ता समितिमार्फत गराएको महालेखाले जनाएको छ । नियममा भएको व्यवस्थाको पालना गर्न महालेखाले निर्देशन दिएको छ ।
अस्थायी कर्मचारीको संचयकोष र बिमा बापत भुक्तानी :
पालिकाले अस्थायी कर्मचारीको संचयकोष र बिमा बापत भुक्तानी दिएको २८ हजार ९ सयमा बेरुजु देखिएको हो । अस्थायी कर्मचारीले संचयकोष तथा विमा वापतको रकम पाउने व्यवस्था नरहेपनि पािलकाले अस्थायी शिक्षिकलाई संचयकोष र बिमा बापतको रकम भुक्तानी गरेको महालेखाले जनाएको छ । उक्त रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
भ्रमण खर्चमा अनियमितता :
पालिकाले पालिका भित्रका योजनाहरुको अनुगमन गरेको भनी भत्ता लिने गरेको महालेखाले जनाएको छ । पालिका भित्रका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरुले विभिन्न समयमा ५ लाख २० हजारभन्दा बढि भत्ता लिएको महालेखाको विवरणमा उल्लेख छ । अनुगमन गरेको भनी भत्ता लिने प्रकारका अनुगमन खर्चलाई निरुत्साहित गर्न निर्देशन दिएको छ ।
खाना, खाजा र गाडी भाडामा खर्च :
पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा खाना, खाजा, गाडीभाडा लगायतका कार्य गरी खर्च गरेको ४ लाख २६ हजार रकममा बेरुजु देखिएको छ । महालेखाको अनुसार पालिकाले सामाजिक सुरक्षा भत्ता वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरुलाई बाँडिने र त्यस्ता लाभग्राही भौगोलिक विकटताका कारण बैंकसम्म आउन नसक्ने भन्दै सम्बन्धित ठाँउमा पुगेर वितरण गर्दा प्रभावकारी हुने भएकोले खर्चमा केही केही वृद्धि भएको जनाएको छ । खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ ।
कोटेशनमा जोड :
पालिकाले मालसामान खरिद गर्दा नियमावली विपरीत ठूलो परिमाणको बजेटलाई पनि टुक्राटुक्रा पारी खरिद गर्ने गरेको महालेखाको विवरणमा उल्लेख छ । पालिकाको ८ वडाहरुमा सामाजिक सुरक्षा कोष खातामा १६ करोड ४२ लाख ५४ हजार निकासा भएकोमा निष्क्रिय खातामा रहेको बाँकी रकममध्य २६ लाख ६४ हजार फिर्ता भएको महालेखाले उल्लेख गरेको छ ।




