
गण्डकीको बेरुजु १ करोड ४४ लाख, सामाजिक सुरक्षा भत्ता वितरण अस्तव्यस्त
प्रतीक्षा आले ।
गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु १ करोड ४४ लाख ७० हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गण्डकीले २६ लाख ९८ हजारको प्रतिक्रिया पठाएको छ । जसमा २२ लाख ७५ हजार असुल उपर गर्नु पर्ने र ८४ लाख ९० हजारको प्रमाण काजगात पेश नभएको उल्लेख छ । यस्तै, १ करोड १८ लाख ८२ हजार रुपैँया नियमित गर्नुपर्ने सुझाव दिएको छ ।
गण्डकीको नाउँमा गतवर्ष ८ करोड २७ लाख ९३ हजार बेरुजु बाँकी रहेको थियो त्यसमा बढेर पालिकाको कुल बेरुजु ९ करोड ७२ हजार रहेको छ । पालिकामा बढी मात्रामा साना तथा (पाँच लाख मुनिका) टुक्रे योनजाहरु संचालन भएको महालेखाले औल्याएको छ । पालिका आर्थिक वर्ष २०७९/८० मा८ वडाका लागी वडागत र पालिका स्तरीय गरी जम्मा १२८ वटा टुक्रे योजनाहरु संचालन गरेको छ ।
जसले गर्दानिर्माण कार्यको गुणस्तरमा प्रश्न चिन्ह उठेको महालेखाले उल्लेख गरेको छ । नवप्रवर्तन साझेदारी कोषबाट पालिकाको विभिन्न स्थानमा क्यामेरा जडान गरिएको १२ क्यामेरामध्य जम्मा ३ वटामात्र संचालनमा आएको महालेखाको विवरणमा उल्लेख छ । पालिकाले निर्माण गरेको भैरवी मन्दिरको नाउँमा सात हजार १८६ रुपैँया बेरुजु देखिएको छ ।
पालिकाले भैरवी मन्दिर निर्माणको जिम्मा लिएको सासा कन्स्ट्रक्सन प्रालि काठमाण्डौलाई विमा वापत ३३ लाख ९४ हजार मात्र दिनुपर्नेमा ४१ लाख ३६ हजार भुक्तानी दिएको देखिएको महालेखाले औल्याएको छ । बढी भुक्तानी भएको रकमको प्रमाण पेश गर्न वा रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा भत्तामा अनियमितता
पालिकाले निकासा गरेको सामाजिक सुरक्षा भत्ता अन्तरगतको १५ लाख ६४ हजारमा पनि बेरुजु देखिएको छ । पालिकाले वडा नं १ र २ का यस्ता निस्क्रिय खाताको विवरण अद्यावधिक गरी १५ लाख ६४ हजारदाखिला गर्नुपर्ने महालेखाले विवरण पेश गरेको छ ।
जुन खर्च शीर्षकमा बजेट विनियोजन छ सोहि शीर्षकमा खर्च गर्नुपर्नेमा गण्डकी पालिकाले फरक शीर्षकमा खर्च गरेको २ लाख २८ हजारमा बेरुजु देखिएको छ । मेशिनरी तथा औजार मर्मतमा गर्नुपर्ने खर्च मसलन्द तथा सामाग्री शीर्षक खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ ।




