| आइतवार, कार्तिक २२, २०८३

च्याङ्ली, धुवाँकोटमा लिची उत्पादन बढ्दै, पाक्न थालेपछि बगैँचै किन्न आउँछन् व्यापारी

मेलिना बराम । गोरखाको लिची पकेट क्षेत्र भनेर चिनिने पालुङटारमा यतिबेला लिची पाक्न सुरु गरेको छ । लटरम्म लिची पाक्न सुरु भएसँगै बिक्रीको पनि सिजन भएको छ । नगरपालिकाको वडा नं., ६, ७ र ८ का किसानहरु अहिले लिची टिपेर बेच्नमा बेस्त छन् ।
वर्षेनी लिची उत्पादन बढ्दै गएको वडा नं. ८ धुवाँकोटका कृषि सञ्जाल कमिटाका संयोजक नारायण अर्यालले बताए ।

‘यो वर्ष पोहरपरारभन्दा लिची राम्रो फलेको छ । भाउ पनि पोहोर सालहरुमा भन्दा उत्पादन पनि बढ्छ होला’ उनले भने, ‘यो वर्ष सबैको गरी पाँच करोड भन्दा पनि बढिको लिची बिक्री हुन्छ ।’ उत्पादन भएको लिची जिल्लाभित्रै खरिद बिक्री गर्ने अवस्था भने नभएकोमा उनले दुख व्यक्त गरे । यहाँ उत्पादन भएको सबै लिची बाहिरी जिल्लामा निर्यात हुने गर्छ । ‘आफ्नै जिल्लामा यति धेरै लिची उत्पादन हुन्छ, तर सबै बाहिरको मान्छेले आएर लाग्छन्,’ उनी भन्छन्, ‘यहाँकाले भने खरिद गरेर बिक्री गर्न सक्ने अवस्था पनि छैन ।’

सुरक्षितपूर्वक भण्डार गरेर राख्नका लागि कोल्डस्टोर(शीतभण्डार) नहुनाले समस्या हुँदै आएको उनले बताए । यसकारण लिची उत्पादन हुने बित्तिकै बिक्री गरिहाल्न पर्ने बाध्यता छ । ढिला भए उत्पादन खेर जाने पनि उनले बताए । ‘कोल्डस्टोर छैन, भएको भए त किसानले आफ्ना उत्पादन सुरक्षित गरेर राख्थे र राम्रो भाउ पाएपछि बेच्न पाउँथे,’ उनले भने, ‘हाम्रो उत्पादन पनि ढिला भए खेर जाने हो की भन्ने डर पनि हुन्थेन, भण्डारण गरि राखेर लामो समयसम्म बिक्री गर्न पाउथ्यौँ ।’

फुल खेल्न थालेदेखि नै व्यापारी, ठेकदारहरु बगैँचा नै ठेक्का लगाउन आउने गरेको संयोजक अर्यालले बताए । केही ठेकेदारहरुले पाँच वर्षकको लागि सम्झौता गरेर पनि लिची खरिद गर्ने गरेको उनले जानकारी दिए । यसैले लिची बिक्री गर्न बजारको भने कुनै समस्या नहुने गरेको उनी बताउँछन् । ‘बजारको कुनै समस्या छैन, लिची फलेर पाक्न दिन मात्रै पर्छ, घरैमा बगैँचा किन्न आउँछन्’ उनले भने ।

अर्यालका अनुसार अहिले तीन भागको एक भाग भने करिब टिपि सकिएको छ । वडा नं. ८ मा लिचीका थप १७ सय नयाँ विरुवा रोप्ने तयारीमा रहेको उनले बताए । लिची उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कृषि ज्ञान केन्द्रबाट सुदृढिकरणको लागि योजना परेको साथै प्रधानमन्त्री कृषि अधुनिकरणबाट डाँडा गाउँमा चक्लाबन्दीको लागि योजना परेको समेत अर्यालले जानकारी दिए ।

पकेट क्षेत्र रहेका वडा नं. ६,७ र ८ मध्य वडा नं. ७ मा अलि बढि उत्पादन हुने वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले बताए । वडा नं.७ र ८ भन्दा ६ मा केही कम उत्पादन हुने उनले बताए । त्यहाँका किसान अन्य बाली उत्पादनमा भन्दा लिची खेतीमा बढी अग्रसर देखिएको उनी बताउँछन् । अन्य बाली भन्दा कयौं गुण बढी उत्पादन लिचीबाट हुने भएकाले यसमा किसानको आर्काषण बढेको वडाध्यक्ष कुमालको भनाई छ ।

‘पहिला पहिला घैया, मकै लगाउँदा ६, ७ मुरी हुन्थ्यो, अहिले त्यहीँ लिची लगाउँदा एक लाख सम्मको आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘यो खेती गर्न सजिलो पनि हुनी भयो, त्यहीँ भएर किसानको पनि आर्कषण बढेको हो ।’ त्यहाँ उत्पादन भएको लिची झापाली व्यापारीहरुले अत्यधिक मात्रमा खरिद गर्ने गरेको उनले बताए ।

‘यहाँ उत्पादन भएको लिची पुग्न त सबैतिर पुग्ला तर खरिद गर्न भने झापालीहरु धेरै आउँछन्’ वडाध्यक्ष कुमालले भने । उत्पादन राम्रो हुने भए पछि किसानहरु पनि खुसी छन् । यहाँका किसानले कम्तीमा पनि १० वटा बोटदेखि सात सय बोटसम्म लिची लगाएका छन् । बगैँचाबाट होलसेलको भाउमा ७० रुपैँयाको दरमा लिची बिक्री भइरहेको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्