| आइतवार, कार्तिक २२, २०८३

हरमटारीको व्यस्त सडकमा दिनदहाडै ढलको भल

गोरखा नगरपालिका वडा नं ६ चालिसेचोकको सडकमा दिनदहाडै ढलको भल बग्ने गरेको छ । चालिसेचोकको व्यस्त सडकमा केही स्थानीयहरुले सडकमा जथाभावी रुपमा दिउँसै ढल छोडिदिँदा समस्या आएको हो ।
अव्यवस्थित ढल समस्याका कारण त्यहाँका व्यापारी, स्थानीयबासी र यात्रुहरु हैरान भएका छन् । ढल व्यवस्थापन नहुँदा मुख्य बजार क्षेत्र नै प्रदुषित बनेको तथा अव्यवस्थित ढल समस्याका कारण स्थानीयबासी हैरान भएका स्थानीय अमृत श्रेष्ठले बताए ।ढल व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको उनले जनाए । ‘यसरी दिउसोको समयमा मान्छेहरुको चहलपहल भइरहेका बेला जथाभावी तरिकाले ढल छोडिदिँदा पुरै टोलमै बसिसक्नु हुँदैन’, उनले भने, ‘अहिलेको चर्को खडेरीमा गर्मीको समय छ, लामखुट्टेले हैरान पारेको छ । यस्तो बेलामा जथाभावी ढल छोडिदिँदा आवतजावतमा निकै समस्या भएको छ ।’ सदरमुकाम बजारमा यस्तो क्रियाकलाप गर्दा सदरमुकामकै बेइज्जत गर्ने काम गरेका पिडितहरुको गुनासो छ ।
यस्तै अर्का व्यापारी अमन मियाँ भन्छन्, ‘भन्यो भने सानोतिनो कुरा गरेजस्तो हुन्छ । तर दिउँसै मूल सडकमा ढल छोडिदिन्छन, बजार दुर्गन्धमय हुन्छ । भन्न पनि कसलाई जाने । हाम्रो कुरा कस्लो पो सुन्छ र ?’ सवारी साधन आउँदा ढलको फोहोर पानी आफ्नो पसल भत्र छिर्ने गरेको उनको गुनासो छ । ‘मान्छेहरुलाई पनि जति भनेनि लाग्दैन, माथि बसेर सबै फोहोर तल फालिदिन्छन्’, उनले भने, ‘पानी प¥यो भने झन् बिजोग हुन्छ ।’ ढलको कारण व्यवसाय संचालन गर्नै समस्या आएको उनले गुनासो गरे ।
गोनपा वडा नं ६ का वडाअध्यक्ष राजेन्द्र कुमार जोशीले ढल निकासाको विषयमा छिटै काम कारबाही अगाडि बढाउने बताए । ‘हामीले पटक पटक ढल निकासा बन्द गर्न निर्देशन दिएका थियौँ, तर उनीहरुले मानेका छैनन्’, उनले भने, ‘अब टोल सुधार समितिसहित घर घरमा गएर आवश्यक कारबाही गछौँ ।’ चालिसे चोकदेखि बराहसम्मको सडक खण्डमा व्यवस्थित ढल र नाला निर्माण गर्न लाग्दा पनि जग्गावालाले नदिएको वडाअध्यक्ष जोशीले बताए । ‘सो क्षेत्रमा ढल र नाला निर्माण गर्न लाग्दा पनि जग्गा वालाले दिएनन्, व्यवस्थित ढल र नाला नहुँदा पनि समस्या आएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्