| आइतवार, कार्तिक २२, २०८३

पालुङटार नगरपालिकाको बेरुजु : कानून विपरीत सल्लाहकार नियुक्ति, अन्धधुन्ध अनुदान र भत्ता

प्रतिक्षा आलेमगर

पालुङ्टार नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा दुईकरोड ६२ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार सो नगरपालिकाले ३३ लाख १८ को प्रतिक्रिया पठाएको छ । जसमा ३० लाख १४ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने छ भने एक करोड ३३ लाखको कागजात पेश गर्नुपर्ने भनी उल्लेख छ । त्यस्तै ६५ लाख ५४ हजार रुपैयाँ नियमित हुनुपर्ने भनी सुझाव दिएको छ ।

गोरखा नगरपालिकाको नाममा गतबर्षसम्म ११ करोड ६६ लाख रुपैयाँ बेरुजु रहेकामा त्यसमा घटेर अब कूल बेरुजु १० करोड ४७ लाख रुपैयाँ बाँकी रहेको छ । साना टुक्रे योजना बाँडफाँड गर्दा बजेटको सही सदुपयोग नहुने हुँदा टुक्रे योजनामा बजेट विनियोजन गर्न नहुने उल्लेख भएकामा यस नगरपालिकाले धेरै टुक्रे योजनामा बजेट विनियोजन गरेको छ । साथै दर्जनभन्दा धेरै योजनाहरुमा शून्य प्रगति भएका महालेखाले जनाएको छ ।

वडा नं ३, ४ र ८ को वडा कार्यालयहरु कम्पाउन्डिङ शीर्षकको, प्रशासकीय भवन निर्माणको, विद्यालय पुर्वाधार तथा गुणस्तर सुधार कार्यक्रम, रंगशाला निर्माण योजना, मालतिगैरा धारापानी डुम्रे सडक निर्माण योजना, ठाँटिपोखरी बजार पैदल मार्ग निर्माण योजनाको शून्य प्रगति भएको महालेखाले जनाएको छ ।

त्यस्तै लाजिकोट लुईटेल सडक निर्माण तथा स्तरोन्नती, झोलुङ्गे पुल निर्माण योजना, सार्वजनिक भवन निर्माणकोलागि जग्गा खरिद योजनामा पनि शून्य प्रगति भएको महालेखाले जनाएको छ । त्यस्तैगरी कोल्ड स्टोर निर्माण योजना, कोल्ड स्टोर निर्माण पानपा वडा नं ९ को योजना, बाह्रकिलो भालुस्वाँरा सडक निर्माण योजनामा पनि शून्य प्रगति भएको महालेखाले औँल्याएको छ ।
सहिद सुरेश वाग्ले स्मृति प्रतिष्ठान कार्यक्रमको लागि शर्सत अनुदानवाट रु. ६४ लाख ८६ हजार भुक्तानी भएको छ ।

जसमा एक करोडसम्मको लागत अनुमानमा मुल्य अभिवृद्धि कर, ओभरहेड कन्टिन्जेन्सी रकम र जनसहभागिताको अंश समेतको रकम समावेश हुने व्यवस्था रहेकोमा यस नगरपालिकाले सहिद सुरेश वाग्ले स्मृती प्रतिष्ठान निर्माण कार्यको ओभरहेड र कन्टिन्जेन्सी वाहेक रु ८७ लाख १८ हजारको लागत अनुमान गरी उपभोक्ता समितीसंग सम्झौता गरी रु. ६४ लाख ८६ हजार भुक्तानी गरेको छ ।

लागत अनुमान तयार गर्दा मुल्य अभिवृद्धि कर, ओभरहेड कन्टिन्जेन्सी, जनसहभागिता समेत रु. एक करोड तीनलाख हुनेमा कार्यालयले ओभरहेड र कन्टिन्जेन्सी वाहेक रु. ८७ लाख १८ हजारको लागत अनुमान तयार गरी सिमाभन्दा वढी रकमको कार्य उपभोक्ता समितीमार्फत गरेको छ । नियमावलीमा तोकेको सिमाभन्दा बढीमा निर्माण कार्य गराएको नियमसम्मत नदेखिएको महालेखाले जनाएको छ । सिम्रन क्रसर र माई मनकामना क्रसरसंग बर्षेनी नवीकरण शुल्क ७५ हजारका दरले असुल उपर गर्नुपर्नेमा नगरेको पनि महालेखाले औल्याएको छ ।

स्वआर्जन कोष पालुङ्टार नगरपालिकाको स्वआर्जन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि नियमावलीको नियम १७(७) कोषबाट प्रवाह हुने कर्जाको व्याजदर वार्षिक २ प्रतिशत हुने र उपनियम ८ मा समयावधीभित्र सावाँ फिर्ता नगरे थप २ प्रतिशत जरिवाना सहित कोषमा कर्जाको रकम फिर्ता गर्नु पर्ने उल्लेख छ । पालिकाले २५३ जनालाई लगानी गरेको रु. चार करोड ३० लाख ५० हजार साँवामध्ये २०८० सम्म साँवा, व्याज र जरिवानासमेत जम्मा रु. दुई करोड ५१ लाख ३८ हजार उठ्न बाँकी रहेको छ ।

सो रकम असुल गरी स्थानीय सञ्चित कोष दाखिला गर्नुपर्ने महालेखाले औंल्याएको छ । त्यस्तै लकाङकाली कृषि सहकारी संस्थालाई दिएको ऋणस्वरुप ४५ लाख ६८ हजार रुपैयाँ दिएकामा हरेक महिना दुई प्रतिशत व्याज र दुईप्रतिशत जरिबाना स्वरुप एकलाख ४२ हजार रुपैयाँका दरले फिर्ता गर्नुपर्नेमा नगरेकाले सो असुल उपर गरी राजस्व खातामा देखाउन सुझाव दिएको छ ।

नगरपालिकास्तरिय तालिम, गोष्ठीमा आन्तरिक स्रोत भएको प्रशिक्षकलाई कार्यपत्र वापत प्रति सेसन रु एकहजार, प्रतिवेदकको रु एकहजार र संयोजकको प्रतिदिन रु चारसयका दरले पारिश्रमिक दिन मिल्ने व्यवस्था छ । तर यस पालिकाले नमुना युवा संसद अभ्यास कार्यक्रममा कार्यालयका कर्मचारीलाई निर्देशिकामा उल्लिखितभन्दा बढीको दरमा दिइएको ९८ हजार रुपैयाँ असुल उपर गर्न निर्देशन गरिएको छ ।
भत्तामा अनियमितता
त्यस्तै पालिकाले भ्रमण बापत खर्च गरेको ५ लाख रुपैँयामा बेरुजु देखिएको छ । नगरपालिकाको वडा नं ९ र १० को जनप्रतिनिधि र सामुदायिक सिकाई केन्द्रका सदस्य अवलोकन भ्रमण बापत खर्च भएको एक लाख रुपैँयामा बेरुजु देखिएको हो । यस्तै, वडा नं ८ को जनप्रतिनिधि कर्मचारी अवलोकन भ्रमण र नमुना विद्यालय अवलोकन भ्रमण अन्तरगत खर्च भएको २/२ लाख रुपैँयामा ५ लाख रुपैँयामा बेरुजु देखिएको हो ।

भ्रमण खर्चको बिलभरपाई परिक्षण गर्दा गाडिभाडा, खानाखाजा तथा होटलबासमा रकम खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले भ्रमणको उद्देश्य तथा उद्देश्य प्राप्तिको मुल्यांकन नगरी खर्च गर्नु उचित नदेखिएको महालेखाले जनाएको छ । यस्तै, कार्यालयको आव २०७९/८० मा भ्रमण बापत खर्च गरेको ४४ लाख ५५ हजार रकममा बेरुजु देखिएको छ ।

भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमणको अभिलेख, दुरीको विवरण , सवारी साधनको टिकट आदी नराखी रकम भुक्तानी गरेको भन्दै महालेखाले सो रकमलाई बेरुजु देखाएको हो । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा निर्देशिका बिपरित १५ जना कर्मचारीलाई भत्ता प्रदान गरेको छ । सो बैँठक भत्ता अन्तरगत एक लाख रुपैँया बेरुजु देखिएको छ । कानुन बमोजिम गठित समितिलाई मात्र बैठक भत्ता उपलब्ध गराउने तथा एकै निकाय र अन्तगगतका पदाधिकारी र कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान नगर्ने प्रावधान छ ।

तर, यस नगरपलिकाको विभिन्न शाखाहरुमा कार्यरत १५ कर्मचारीहरुलाई नियम बिपरित ३ हजारदेखि १५ हजारसम्म भत्ता प्रदान गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकामा संचालित गाउँघर क्लिनिक, स्वास्थ्य शिविर र एकिकृत घुम्ति शिविर कार्यक्रमको अनुगमनमा खटिएअनुसार पदाधिकारी, कर्मचारी र पत्रकार गरी १३ जनाले आर्युवेद शिर्षकमा लिएको ५० हजार भत्ता रकममा बेरुजु देखिएको छ ।

पदाधिकारीलाई मासिक रुपमा अनुगमन वापत भत्ता दिने गरेको र त्यसबाहेक अनुगमनको नाममा अन्य सुविधा दिने व्यवस्था नभएको र कर्मचारीहरुलाई अनुगमन गरेबापत भत्ता दिन नपाइने महालेखाले जनाएको छ । तर, यस नगरपालिकाले पदाधिकारीहरुलाई बढी बैठक भत्ता दिएको महाशाखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाका पदाधिकारी सदस्यले रु एक हजारका दरले बैठक भत्ता पाउने प्रावधान रहेकामा १५ सयका दरले भुक्तानी लिने गरेकाले बढी भुक्तानी लिएको सो रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

नगरपालिकाको नगर शिक्षा समितिको बैठकका २८ जनाले सहभागीले वढी भुक्तानी गरेको १० हजार ५ सय र जलस्रोत तथा खानेपानी बैठकका १४ जना सहभागीले भुक्तानी लिएको २० हजार ५ सय रुपैँया गरी जम्मा ३१ हजार रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
नियम बिपरित कानुनी सल्लाहकार नियुक्ति
गाउँसभा, नगरसभा र जिल्ला समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा गाउँपालिका तथा नगरपालिकाले कानुनी सल्लाहाकार नियुक्त गर्न नमिल्ने प्रावधान छ तर, पालुङटारले ‘अपन ल च्याम्वर’लाई कानूनी सल्लाहकार नियुक्त गरी मासिक ४३ हजार दरले एकबर्षको पाँचलाख २३ हजार खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ । यसरी कानुनी वेगर कानुनी सल्लाहाकार नियुक्ती गरी भुक्तानी गरेको रकम नियमसम्मत नदेखिएको महालेखाको टिप्पणी छ ।
अन्धधुन्ध अनुदान
पालुङटारले नियम बिपरित गैरसरकारी संस्थाहरुलाई अन्धधुन्ध रकम भुक्तानी गरेको पाइएको छ । गैरसरकारी संस्थालाई अनुदान प्रदान गर्ने कुनै पनि कानुनी आधार नरहेको र पालिकाले समेत कानुन निर्माण नगरेकाले गैरसरकारी संस्थालाई भुक्तानी गरेको रकम अनियमित देखिएको महालेखाले जनाएको छ ।

नगरपािलकाले गैरसरकारी संस्थाको नाममा भुक्तानी गरेको ११ लाख रकममा बेरुजु देखिएको हो ।पालिकाले पर्व मेलामा मात्र १४ लाख ७६ हजार खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ । पालिकाले खर्चको तयार गरी यसप्रकार हुने खर्चमा एकरुपता तथा मितव्ययीतता अपनाउन सुझाव दिएको छ ।
आँपपिपल अस्पताल
पालुङटार नगरपालिकाले आँपपिपल अस्पताललाई प्रदान गरेको रु २६ लाख ९६ हजार बराबरको औषधी तथा अन्य खर्चमा समेत बेरुजु देखिएको छ । अस्पतालले अस्पतालमा भएको आम्दानी दाखिला नगरी छुट्टै सञ्चालक समिती गठन गरी खर्च गर्दै आएको महालेखाले जनाएको छ ।

सो अस्पताललाई कानुनी दायराभित्र ल्याई सम्पुर्ण आम्दानी पालिकाको राजश्व खातामा दाखिला गर्न महालेखाले निर्देशन दिएको छ । पालुङटारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसुती सेवा लिएवापतको ८६ हजार रकम बेरुजु देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्