| आइतवार, कार्तिक २२, २०८३

गोनपाको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनका लागी सुझाव संकलन गरेको छ । आगामि आ.व २०८१/०८२ का लागि नीति बनाई कार्यक्रम ल्याउन र सोही अनुसारको बजेट विनियोजन गर्न नगरवासी तथा विभिन्न सरोकारवाला निकायहरुबाट सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा सहभागिहरुले सदरमुकामको सडकको स्तरोन्नती, खानेपानी तथा ढल निकासाको समस्या र समाधानका उपायका बारेमा सुझाव दिएका थिए । दरौंदी लिफ्टिङ खानेपानी र पृथ्वी नारायण साना सहरी खानेपानीका संस्थापक अध्यक्ष बद्री बहादुर मास्केले बजार क्षेत्रमा २० वर्ष भन्दा अघिदेखिको खानेपानीको समस्या समाधान गर्न तथा उचित महशुल निर्धारण गर्न नगरपालिकाको खानेपानी बोर्डले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले उपल्लोकोट, गोरखा दरबार र गोरखा संग्रहालयलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । गोरखा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष भगवान बाबु मास्केले गोरखा संग्रहालय परिसरमा अलपत्र पारिएको सूचना केन्द्र व्यवस्थापन गरिदिन माग गरे । आँबुखैरेनीदेखि गोरखसम्म सुलभ शौचालयको आवश्यक रहेको उनले बताए ।

गोरखा च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले लक्ष्य बनाएर मात्रै नीति तयार गरी बजेट बनाउनु पर्नेमा जोड दिए । मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीले राष्ट्रिय विभूतिको नाममा पार्क निमार्ण गर्नुपर्ने, अतिक्रमित सार्वजनिक जग्गाको खोजी गनुृपर्ने औंल्याए । जिल्लाको पर्यटन क्षेत्र प्रवद्र्धन गर्न आदिवासी जनजाति संग्रहालयको आवश्यकता रहेको आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु रानाले बताए ।

युरिया मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्दै गएको पद्धति बिकास केन्द्र गोरखाका सुनिल न्यौपानेले बताए । उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किरोशजंङ थापाले आर्थिक वर्ष सुरु भएदेखि दशैंसम्म बजेटको ५ प्रतिशत भए पनि खर्च हुनु पर्नेमा जोड दिए ।

स्वास्थ्य बिमा बोर्ड नेपालका अध्यक्ष गुणराज लोहनीले न्याय नपाए गोरखा जानु मात्रै होइन स्वास्थ्य सेवा लिन पनि गोरखा जाऔं भन्ने वातावरण बनाउन लाग्नु पर्ने बताए । नेकपा गोरखाका सेक्रेटरी काजी सीले शिक्षालाई प्रभावकारी बनाउन आईटी तालिमको व्यवस्थापन हुनु पर्ने बताए । नगरपालिकाले किसानलाई आवश्यक परेका बेला मल बिऊको व्यवस्थापन गरिदिनु पर्ने राप्रपा जिल्ला उपाध्यक्ष रोलक बहादुर थापाले बताए । छिटो र दिर्घकालिन हुने विकासको योजनालाई प्रथामिकतामा राख्नु पर्ने रास्वपाका जिल्ला सभापति शिशु बाबु प्रधानले बताए ।

गोरखा नगरपालिकाका निवर्तमान मेयर राजन राज पन्तले विकास निर्माणको काममा विभेद गरियो भने परिणाम राम्रो नआउने चेतावनी दिए । नगरपालिकाबाट हुने सेवा प्रवाहमा जनता सन्तुष्टि नरहेको उपमेयर सपना पुनले स्वीकार गरिन् । नेतृत्व माथिको हस्तक्षेपले सेवा प्रवाह प्रभावित बनेको उनले बताइन् ।

कार्यान्वय गर्न सक्ने नीति तथा योजना मात्रै बजेटमा राख्नु पर्ने प्रजिअ भोला दाहालले बताए । फेहोर व्यवस्थापन दिर्घकालिन तथा डढेलो नियन्त्रण गर्न थप प्रभावकारी कामगर्नु पर्ने उनले बताए । मेयर कुष्ण बहादुर रानाको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्