| आइतवार, कार्तिक २२, २०८३

चुम्चेतको सिद्ध गणेश आधारभूत विद्यालयमा सयजना अट्ने छात्रावास निर्माण हुने

चुमनुब्री गाउँपालिका वडा नं. ६ चुम्लिङस्थितसिद्ध गणेश आधारभूत विद्यालयमा एकसय जना अट्ने क्षमताको छात्रावास भवन निर्माण हुने भएको छ । छात्रावास भवन निर्माणका लागी राष्ट्रिय योजना आयोगबाट तीन वर्षे क्रमागत बजेट विनियोज भएको वडाध्यक्ष सरोज लामाले बताए ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन गर्नेगरी ५० लाख रुपैयाँबजेट विनियोजन भएको उनले जानकारी दिए ।
सिद्ध गणेश आधारभूत विद्यालयमा हाल २० जना क्षमताको छात्रावाससँगै पाँचसम्म कक्षा सञ्चालनमा रहेको छ । विद्यालयसँगै छात्रावास पनि आवश्यकता रहेकाले छात्रावास भवन निर्माण गर्नका लागि पहल गरिएको उनको भनाइ छ ।

‘भौगोलिक अबस्था हेर्दा यहाँ स्कुलसँगै होस्टल पनि हुनुपर्छ भन्ने कन्सेप्ट आयो, अनि यो आवश्यकता पनि हो’, उनले भने । भविष्यमा मा.वि तहसम्म विद्यालय विस्तार गर्ने योजनाका साथ पहल थालिएको उनले बताए । ‘अहिले पाँच कक्षासम्म मात्रै स्कुल सञ्चालनमा छ । भविष्यमा माविसम्म लैजाने योजना बनाएका छौं,’ वडाध्यक्ष लामा भन्छन्, ‘गाउँमा नै आवसीय व्यवस्थाका साथ माविसम्म स्कुल भयो भनी हाम्रा बालबच्चा पढ्नका लागि गाउँ छाडेर सहर जानु पर्दैन ।’

बालबालिकाहरु पढ्नकै लागि भनेर सानै उमेर सहर जाने प्रवृत्तिले मातृभाषा, मौलिक संस्कृति बिर्सने, आफ्नो थातथलोको मायामोह गुम्ने समस्या बढ्दै गएकाले बालबालिकालाई गाउँमै पढाउनु पर्छ भन्ने मान्यता विकास भएको उनले बताए । आफ्नै बच्चाले बोलेको भाषा आमाले नबुझ्ने, आमाले बोलेको बच्चाले नबुझ्ने अबस्था आउँदा झनै समस्या भएको गरेको वडाध्यक्ष लामाले बताए ।

‘गाउँमा भनेको जस्तो स्कुल छैन, पाँच कक्षापछि सबै बजार झर्छन्,’ उनले भने, ‘नजाउ भन्न पनि कसरी उनीहरुको भविष्यको सबाल हुन्छ, तल झरे पछि उनीहरुले आफ्नो भाषा नै बिर्सछन्, गाउँ फर्किदा उनीहरुले बोलेको आमा–बाले नै बुझ्दैनन् ।’
यस्तो प्रवृत्तिले भावी दिनमा आफ्नो भाषा संस्कृति नै लोप हुने डर रहेको उनले गुनासो व्यक्त गरे । आफ्नो भाषा संस्कृतिको संरक्षण गर्न साथै आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पनि गाउँमा नै उच्च शिक्षा हाँसिल गराउने उद्देश्यले छात्रावास निर्माण गर्न लागिएको वडाध्यक्ष लामाले बताए ।

अहिले स्कुल रहको स्थान भन्दा करिब एक सय मिटर पर वडाको आफ्नै जग्गामा छात्रावास निर्माण गर्न लागिएको हो । छात्रावास निमार्णको लागि पाँच करोडको डिपिआर तयार गरिएको छ । सो बजेट तीन वर्षे क्रमागत हो । उक्त बजेटमा दुई वटा भवन निर्माण हुने छ । एउटा छात्रावासका लागि र अर्को विद्यालयलाई मावि तहमा विस्तार गर्दै लैजाँदा कक्षा संयोजनका लागी प्रयोजन हुने गरी भवन निर्माण गर्न लागिएको हो । ‘राष्ट्रिय योजना आयोग निर्णय भए अनुरुप नै बजेट आउने हो भनी हाम्रो काम समयमा नै सम्पन्न हुन्छ,’ उनले भने । आगामि वर्षको गाउँसभाको निर्णय आएसँगै छात्रावास निर्माणको काम सुरु गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्