| आइतवार, कार्तिक २२, २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रम ‘… देख्नेलाई लाज’

सामान्य खालको श्रम पनि होओस्, सामान्य खालको विकासको काम पनि होओस् र बेरोजगार युवाहरुले सय दिनको रोजगारी पनि पाउन् भन्ने उद्देश्यले सरकारले आजभन्दा सातबर्षअघि प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर घोषणा गरेको थियो ।
यस कार्यक्रमको मक्सत रुपमा हेर्दा अति विपन्न युवाहरुलाई रोजगारी दिने भनेपनि सारमा स्थानीय सत्ताका सञ्चालकहरुले सिफारिस गरेका युवाहरु अर्थात पार्टी लाइनका युवाहरुलाई आर्थिक सहायता दिने कार्यक्रम हो ।

गरिब देशको खुम्चिएको ढुकुटीको पैसा बाँड्ने कार्यक्रम हो । फस्टाउन नसकेको अर्थतन्त्रलाई अझै आर्थिक भार थप्ने कार्यक्रम हो । बालुवामा पानी हालेसरह व्यर्थमा बजेट सक्ने यो कार्यक्रमको अन्तर्य जति धमिलो छ, यस कार्यक्रम अन्तर्गत छनौट गरिने कामको प्रकृति पनि उस्तै विवादित छ ।

जेठ लागेपछि दिनभरि रुखको फेद, ठाँटीपाटीको सियाँलमा सितल ताप्ने, बेलाबेला उठेर सडक छेउतिर जाने, दुबो, मथे, बन्सो झारको टुप्पो निमोठ्ने अनि फेरि सितल ताप्ने र हाजिर पकाउने यो कामको प्रकृति छ । झार उखेलेर झारा टारेको कामको अनुगमन भनेर दुनियाँको आँखामा छारो हाल्ने काम पनि हुन्छ ।

रोचक त यो छ कि, यो कार्यक्रम विवादित, आलोचित भएको सुरुकै बर्षदेखि हो । अहिलेसम्म निरन्तर आलोचना हुन पनि छाडेको छैन, सुधार गर्ने चेष्टा भएको पनि छैन । प्रधानमन्त्री रोजगार कार्यक्रम त … देख्नेलाई लाज भइसकेको छ ।
काम गरेर पारिश्रमिक लिनु मनासिब हो । विश्व खाद्य कार्यक्रमले पनि काम गरेर खाद्यान्न(पारिश्रमिक) दिने गर्छ ।

यस्तो कार्यक्रमलाई कामका लागि खाद्यान्न(फुड फर वर्क) अथवा क्यास फर वर्क भनेर यस्तो कार्यक्रम गर्ने गर्छ । यो पद्धति ठिक छ । तर आँखामा छारो हालेर पैसा बाँड्नुचाहिँ दुनियाँका कसैको पनि चित्त नबुझ्ने कुरा हो । वितरणमुखी कार्यक्रमै सही, परिणाम देखिने काम गरेर पैसा बाँडे यो कार्यक्रम आलोचनामुक्त हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्