| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा स्वास्थ्यकर्मी

गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी आरुघाट गाउँपालिकाले बिशेष स्वास्थ्य सेवा सुरु गरेको छ । सुनौलो हजार दिनका आमाहरुसँग ‘उपाध्यक्ष भेटघाट’ भन्दै चालु आर्थिक बर्षबाट बिशेष कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

कार्यक्रम अन्तरगत पालिकाभित्र कोही गर्भवती भएमा उनीहरुले गर्न हुने र नहुने लगायतका सन्देश लेखिएको फ्लेक्ससहित स्वास्थ्यकर्मीहरु उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरमा पुग्छन् । ‘एक त गर्भवती हुदाँ के गर्न हुन्छ के गर्न हुदैन भन्ने कुरा त्यो फ्लेक्समा लेखिएको हुन्छ,’ स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले भने, ‘सँगै गर्भवतीलाई दुख नदिनु, गह्रौँ भारी बोक्न नलगाउनु, राम्रोसँग हेरबिचार गर्नु जस्ता उपाध्यक्षको सन्देश पनि हुन्छ ।’

उक्त फ्लेक्स गर्भवती महिलाको घरको भित्तामा स्वास्थ्यकर्मीहरुले टाँस गरिदिने र त्यहाँ लेखिएका कुराहरुलाई ध्यान दिन आग्रह गर्ने उनले जानकारी दिए । उनका अनुसार गर्भवती भएको चार महिनामा पोषण सामग्री वितरण हुन्छ । आयोडिनयुक्त नुन एक पोका र राजमा एक केजी उपलब्ध गराइने उनले जानकारी दिए । ‘प्रोटोकल अनुसार बच्चा जन्मनु अघिको अन्तिम भेटमा मन्जन, ब्रस, नङकट, सावुन जस्ता सरसफाइका सामाग्री दिन्छौ, यी सामग्रीहरु लिन स्वास्थ्य संस्थामा आउनुपर्छ,’ उनले भने ।

उनका अनुसार सुत्केरी भएर बच्चा जन्मेको ६ महिनापछि सर्वाेत्तम पिठो दिइन्छ । ‘६ महिनापछि आमाको दुध कम आउँछ, आमाको दुधसँगै थप पोषण बच्चालाई चाहिने भएकाले सर्वोत्तम पिठो दिन्छौ । बच्चाको कुपोषण परिक्षणका लागि बच्चाको पाखुरा जाँच गर्छाै र हरेक महिना बच्चाको तौल पनि लिन्छौ,’ थापाले भने । बच्चा एक बर्षको पुगेपछि बिशेष गिफ्ट दिइन्छ । सरसफाइमा बिशेष ध्यान दिन भन्दै तेल, सावुन, निक्याप र स्याम्पु दिइने उनले जानकारी दिए । बच्चा दुई बर्षको पुगेपछि पनि सोही सामग्री उपलब्ध गराउने उनले बताए ।

दुई बर्षभित्र बच्चाको करिव ८० प्रतिशत बौद्धिक बिकास हुने भएकाले त्यसैलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहनसँगै मातृ तथा बाल मृत्युदर कम गर्ने लक्ष्य कार्यक्रमको रहेको बताइएको छ । मातृत्व तथा पोषणसँग सम्बन्धित उक्त कार्यक्रमका लागी पालिकाले चालु आव पाँच लाख रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्