| आइतवार, कार्तिक २२, २०८३

पन्थडिही-कटहरे-हर्मी सडकको ३३ प्रतिशत प्रगति, नाम्जुङ- खगी सडकको कालोपत्रे सुरु

प्रतीक्षा आले मगर ।
सहिदलखन गाउँपालिका वडा नं ६ खगीदेखि वडा नं ९ नाम्जुङसम्म ३.५ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पालिकाले संघीय समपुरक बजेट अन्तरगत ९ करोड ९८ लाख लागतमा सडक कालोपत्रेको काम सुरु गरेको हो ।

‘संघीय समपुरक बजेट अन्तरगत संघको ५० र पालिकाको ५० प्रतिशत लागतमा सडक कालोपत्रे हुँदै छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने, ‘पालिकालाई जिल्ला सदरमुकामसम्म जोड्ने उद्देश्य सहित कालोपत्रेको काम सुरु गरेका छौँ ।’ ३.५ किमि लम्बाई र सात सय मिटर चौडाईको उक्त सडकको कालोपत्रेको काम सम्पन्न भएसँगै पािलका आवतजावतमा धेरै सहज हुने उनले बताए । ‘अहिले पालिकाबाट केही परसम्म मात्र कालोपत्रे हुन लागेको हो’, उनले भने, ‘खगीबाट पालिका भवनसम्मको १.५ किमि सडक भने अर्को वर्ष कालोपत्रे गर्ने योजना छ ।’

सडक कालोपत्रेका लागि पालिकाले साइनर्जी सचेत जेभीसँग ठेक्का सम्झौँता गरेको उनले बताए । २०७९ माघबाट सुरु भएको काम अन्तिम चरणमा पुगेको मगरको भनाइ छ । ‘यो वर्षको माघसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौँता भएको थियो’, उनले भने, ‘तर, ठेकेदार कम्पनीले समय अगावै सम्पन्न हुनेगरी धमाधम काम गरिरहेको छ ।’ यही असारको पहिलो हप्ताभित्र सम्पन्न हुनेगरी काम भईरहेको उनले बताए ।

गोरखा सदरमुकाम–बुङ्कोट–पालिका भवन हुँदै मनकामना–रामशाह घाट सडक खण्ड अन्तरगत करिब ४० प्रतिशत सडक खण्ड कालोपत्रे भइसकेका छन् । पालिकाले सडक कालोपत्रेका लागि प्रत्येकवर्ष रकम विनियोजन गरेर काम गर्ने गरेको छ । सोही कार्यक्रम अन्तरगत खगीदेखि नाम्जुङसम्मको ३.५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको पालिकाले जनाएको छ । ‘आइतबारदेखि कालोपत्रेको काम सुरु भएको छ, काम सम्पन्न नहुन्जेल सवारी साधन आवतजावतमा बैकल्पिक बाटो प्रयोग गर्न सकिन्छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने ।

त्यस्तै गतबर्षको चैत महिनामा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको पन्थडिही, कटहरे, हर्मी, साहिलटार सडक स्तरोन्नतिको काम अहिलेसम्म करिब ३३ प्रतिशत सम्पन्न भएको छ । गतबर्षको फागुन १५ गते सम्झौता भई चैत आठ गते शिलान्यास भएको सो सडक कालोपत्रे गर्ने काम एकबर्षको अवधिमा करिब ३३ प्रतिशत प्रगति भएको गोरखा सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।

‘२०.३४ किलोमिटर सडक डबललेन कालोपत्रे गर्ने योजना हो । अहिलेसम्म चौडा गर्ने काम सम्पन्न भइसकेको छ’, खड्काले भने, ‘माटो कटिङको काम पनि सकियो । टेवा पर्खाल लगाउने काम करिब ५० प्रतिशत सम्पन्न भएको छ । कल्भर्ट बनाउने काम पनि करिब करिब सकियो । अहिले ग्राभेल गर्ने काम पनि सुरु भएको छ ।’ ग्राभेलको काम पनि करिब तीन किलोमिटर सम्पन्न भइसकेको उनले जानकारी दिए ।

२०८२ को असोजभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी र कार्यालय बीच सम्झौता भएको हो । सो सडक ९२ करोड ९७ लाख रुपैयाँमा स्तरोन्नति गर्न निर्माण कम्पनी उडहिल, लामा जेभीले सम्झौता गरेको हो । सो सडक भारत सरकारको एक्जिम बैंकको ऋण सहयोग कार्यक्रमअन्तर्गत स्तरोन्नति हुन लागेको हो ।

सो सडक बनेपछि चार लाख भन्दाबढि जनसंख्या लाभान्बित हुने गोरखा सडक आयोजना कार्यालय गोरखाले जनाएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सक्रियतामा २०७७/७८ र २०७८/७९ मा दुईपटक ठेक्का आह्वान भएको थियो । तैपनि यो सडक खण्डको काम सुरु हुन सकेको थिएन । यो सडकको ट्रयाक खन्ने काम २०६५ देखि नै सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्