| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोट ३ बन्यो जिल्लाकै पहिलो ‘बालमैत्री वडा’

अजिरकोट गाउँपालिका वडा नं ३ जिल्लाकै पहिलो ‘बालमैत्री वडा’ बनेको छ । आइतबार पालिकाले एक कार्यक्रमकाबीच वडा नं ३ लाई बालमैत्री वडा घोषणा गरेको हो । बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ अनुसार ५१ वटा सूचकहरुलाई स्थानीयकरण गर्दै पालिकाले आवश्यक ४० वटा सूचक निर्धारण गरेको थियो । ती सूचकहरुलाई वडा नं ३ ले कार्यान्वयन गरेसँगै उक्त वडा जिल्लाकै पहिलो बालमैत्री वडा बन्न सफल भएको अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले बताए ।

‘निर्धारीत सूचकका आधारमा वडा नं ३ ले ९३ प्रतिशत अङ्क प्राप्त गरेको छ’, उनले भने, ‘वडाको लगातार ३ महिनासम्मको विवरणलाई आधार मानेर पालिकाले वडालाई बालमैत्री वडा घोषणा गरेको हो ।’ वडाको विवरणलाई पालिकाले र पालिकाको विवरण जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरेपछि वडा नं ३ जिल्लाकै पहिलो बालमैत्री वडा बनेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा बनेको अनुगमन समितिले निरिक्षण गरेर वडालाई बालमैत्री वडा घोषणा गरेको उनको भनाई छ ।

अजिरकोट ३ ले बाल संरक्षण, बाल बिकास, बाल बचाउ र बाल सहभागिताको अवधारणलाई अबलम्बन गरेकाले बालमैत्री वडा बन्न सफल भएको पालिकाले जनाएको छ । बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन गरेर काम गरेको, बालबालिका सम्बन्धी नीति निर्माणमा बाल सहभागिताको अवधारण अपनाएको, होटल तथा सवारी साधनहरुमा कार्यरत बालबालिकाहरुलाई हटाएको, बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुको आयोजना गरेको लगायतका आधारमा वडा ‘बालमैत्री वडा’ बन्न सफल भएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालबालिको लागी आगामी वर्ष थप रकम बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गण्डकी प्रदेश बालबालिकाको विषयमा निकै संवेदनशील छ’, उनले भने । अजिरकोट गाउँपालिकाका अध्यक्ष ादीपक देवकोटाको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य पार्वती तामाङ, प्रदेश सभा सदस्य टिका बसेल, जिल्ला समन्व समिति उपप्रमुख लिला परियार, जिल्लाका सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्