| आइतवार, कार्तिक २२, २०८३

गाउँपालिकाले बनाइदियो माछीखोला प्रहरी चौकीको भवन

धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोला प्रहरी चौकीले नयाँ भवन पाएको छ । गाउँपालिकाकै खर्चमा चौकीको नयाँ भवन बनेको हो । कुल ३७ लाख ३३ हजार लागतमा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
भवन निर्माणका लागी २०८० साल मंसिर २४ गते ठेक्का सम्झौता भएको थियो । चार महिनाको अवधिमा भवन निर्माण सम्पन्न भएको हो । प्रहरी चौकीको आफ्नै नाममा रहेको जग्गामा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।

‘प्रहरीको काम कारवाही चुस्त दुरुस्त बनाउन भवनले सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भने, ‘निर्माण सम्पन्न भएपनि भवनको उद्घाटन भने भएको छैन ।’ नयाँ भवनबाट सेवा प्रवाहमा थप सहज हुने अपेक्षा गरिएको छ । वडा नम्वर २ केरौजामा प्रहरीको अस्थायी पोष्ट समेत स्थापना भएको छ ।

केरौजा र काशिगाउँलाई लक्षित गरी पोष्ट स्थापना गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नरबहादुर साउथले बताए । उनका अनुसार घर भाडामा लिएर पोष्ट संचालन गरिएको छ । घर भाडा भने पालिकाले तिर्ने गरी सम्झौता भएको छ । गत बर्ष सम्झौता भएपनि केही दिनअघि मात्र पोष्ट स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्