| मङ्लबार, कार्तिक २४, २०८३

पोलियो विरुद्धको ‘आइपिभी’ खोप अभियान सुरु

जिल्लामा पोलियो बिरुद्धको आइपिभी खोप अभियान सुरु भएको छ । वुधबारबाट जिल्लाभर एकसाथ खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिका–६ दरवारमार्गस्थित महेन्द्रज्योती माविमा रहेका लक्षित बालबालिकालाई खोप लगाएर अभियानको उद्घाटन गरिएको खोप फोकल पर्सन नानीबाबु दानीले बताए । जिल्ला समन्वय समिति उपप्रमुख लिला परियारको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको हो ।

२०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएर खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी अभियान संचालन गरिएको उनले जानकारी दिए । यही जेठ २६ गतेसम्म चल्ने अभियानमा जिल्लाभरका ८ हजार ५ सय ३९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । सबैभन्दा बढी गोरखा नगरपालिकामा २ हजार ४८६ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा २९७ जना बालबालिकालाई खोप लगाइने बताइएको छ ।

कार्यालयका अनुसार पोलियो रोग लागेका व्यक्तिलाई अतिशिघ्र लुलो पक्षघातसँगै मृत्युसम्म हुन सक्छ । ५ बर्ष मुनिका बालबालिकालाई यो रोग लाग्ने बढी जोखिम रहेको कार्यालयका दानीले बताए । यो रोगको कुनै निश्चित औषधी उपचार नभएकाले यसबाट बच्न खोप नै लगाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्