
धार्चे गाउँपालिकाको निर्माणाधिन भवन अलपत्र पारेर ठेकेदार गायब
धार्चे गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवन अलपत्र पारेर ठेकेदार गायव भएका छन् । समयमै काम सम्पन्न नगरेर थप भएको म्याद गुज्रिदासम्म पनि उनी काममा फर्किएका छैनन् । भवन निर्माणका लागी २०७८ साल बैशाख ५ गते विकोइ–हेमन्त जेभी चितवनसँग सम्झौता भएको थियो ।
करिव दुई बर्षमा काम सक्ने गरी सम्झौता भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार बताउँछन् । ‘२०७९ साल माघ २९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको थियो,’ उनले भने, ‘काम नसकिएपछि १३ महिनाका लागी म्याद थप भयो तर, त्यो अवधिभर ठेकदार एकपटक पनि यहाँ आएन, काम पनि गरेन ।’ फोन गर्दा प्राय नउठ्ने गरेको उनले बताए । ठेकेदारको लापरवाही कारण भवन अलपत्र परेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनका अनुसार भवनको हालसम्म ७० प्रतिशतमात्र भौतिक प्रगति रहेको छ ।
समयमै भवन निर्माण नहुँदा पालिकाको कार्यसम्पादनमा समस्या भएको उनले बताए । कार्यालयको अभिलेख व्यवस्थापनमा समेत समस्या भएको उनले जानकारी दिए । ‘भाडाको घरमा कार्यालय संचालन गर्दै आएका छौ, तर स्पेस धेरै नभएर कर्मचारीको कार्यकक्ष समेत व्यवस्थापन गर्न सकेका छैनौ,’ उनले भने । शाखा कार्यालयको व्यवस्थापनमा समेत समस्या रहेको बताउँदै उनले ठाउँ अभावमा स्टोर समेत अन्यत्र राख्नुपरेको गुनासो छ ।
नयाँ भवन निर्माण भए पालिकालाई आर्थिक भार समेत कम हुने बताइएको छ । आफ्नै भवन नभएका कारण कार्यालय संचालनका लागी बार्षिक करिव चार लाख रुपैँया घरभाडा तिर्ने गरेको पालिकाले जनाएको छ । यस बिषयमा थप जानकारी लिन फोन गर्दा निर्माण कम्पनी सम्पर्कमा आउन चाहेन ।




