
बजेटमा गोरखा : बुढीगण्डकी आयोजना निर्माणदेखि गोरखकाली रवर उद्योग संचालनसम्म
१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।
आयोजना निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितताका लागि दुई ढाँचा प्रस्ताव गरिसकिएको उनले बताए । जलाशययुक्त आयोजनाको बाँध र विद्युत गृह छुट्टाछुट्टै निर्माण गर्ने गरी आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख छ । बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने सरकारले लक्ष्य निर्धारण गरेको उनले जानकारी दिए ।
प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै सेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको छ । आगामी आवदेखि नेपालको बिजुली बंगलादेश पु¥याइने घोषणा पनि उनले गरे ।
सरकारले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई सार्वजनिक–निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने घोषणा दोहो¥याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण क्रममा अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । त्यस्तै सार्वजनिक संस्थानको जग्गाको चार किल्ला यकिन गरी संरक्षण गरिने उनले बताए ।
पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना बेनीघाटसमम्म पडवे प्रणालीको सम्भाव्यता अध्ययन लगानी ढाँचा तयार गरी निर्माण अगाडि बढाइने बताइएको छ । मुग्लिङ–आँबखैरेनी सडक विस्तार सुरु गर्ने र आँबुखैरेनी–पोखरा सडक स्तरोन्नति सम्पन्न गर्ने भनिएको छ ।
गोरखामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भनिएको छ । अर्थमन्त्री पुनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए । मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।




